धनगढी, १४ असोज- हसनपुर युथ क्लव, धनगढी ५ हसनपुरले धनगढीमा प्रथम खुल्ला पेलान्टी सुटआउट फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक २ गते पेलान्टी सुटआउट फुटवल प्रतियोगिता आयोजन गर्ने जानकारी दिएको हो ।
दशै र तिहारको उपलक्ष्यमा आयोजन गरिएको प्रतियोगिता धनगढीको खुला मञ्चमा गर्ने क्लवका अध्यक्ष तेज बलमे जानकारी दिए । पछिल्लो समयमा धनगढीमा पेलान्टी सुटआउट फुटवलमा क्रेज बढिरहेका बेला खुला क्लव स्तरिय फुटवल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक आशाराम चौधरीले जानकारी दिए ।
प्रतियोगितामा विजेताले १ लाख १ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले ५१ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने छन् । त्यस्तै सार्वाधिक गोलकर्ताले रु २५ सय नगद सहित ट्रफी, प्रमाणपत्र र उत्कृष्ट गोलरक्षकले पनि रु २५ सय नगद सहित ट्रफी र प्रमाणपत्र पाउने क्लवका सचिव भागिराम चौधरीले जानकारी दिए ।
प्रतियोगिता आयोजनाका लागि कुल २ लाख ४७ हजार खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तेज बम, उपाध्यक्ष ठक्कर देउवा र खेल संयोजक आशाराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।