बैतडीका १५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । उपचारका लागि डडेल्धुरा अस्पताल पुगेका बैतडीका विभिन्न स्थानका १५ जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । मुसाको शरीरमा हुने माइट नामक जीवाणुको टोकाइबाट हुने यो रोगबाट जिल्लामा थप संक्रमित हुने उहाँले बताउनुभयो ।
संक्रमित बिरामी मध्ये सबैभन्दा बढी पाटन नगरपालिकाका ८ जना रहेका छन् । यस्तै सुर्नया गाउँपालिकाका १, सिगास गाउँपालिकाका ४, दोगडाकेदार गाउँपालिकाका १ र शिवनाथ गाउँपालिकाका एक जनामा स्क्रब टाइफसको संक्रमण देखिएको प्रमुख भट्टले बताउनुभयो । स्क्रब टाइफसको संक्रमण देखिएका ठाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख भट्टले बताउनुभयो ।
जिल्ला अस्पताल बैतडीमा स्क्रब टाइफसको चेकजाँचका लागि कीट नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो । स्क्रब टाइफस चेकजाँच गर्ने कीट नभएपनि लक्षण तथा चिन्हका आधारमा उपचार गर्दै आएका डा. बिष्टले जानकारी दिनुभयो ।
स्क्रब टाइफसको संक्रमण भएमा ज्वरो आउने, शरीरमा डाबर देखिने लगायतका लक्षणहरु देखा पर्ने भएकाले यस्तो लक्षण देखिएमा स्वास्थ्यचौकीमा सम्पर्क राख्न स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले आग्रह गर्नुभयो ।स्क्रब टाइफस माइटबाट सर्ने भएकाले घरवरीपरीको वातावरणीय सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।वातावरणीय सरसफाईको कमीले यस्ता रोगहरुको संक्रमण देखिने भएकाले यसमा सजक रहन जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले आग्रह गर्नुभयो ।