‘हेल्थ असिस्टेन्ट’का भरमा चल्दै
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सक विहीन बनेको छ । एकजना नवौँ तह र दुईजना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल तीन सातादेखि हेल्थ असिस्टेन्टको भरमा सञ्चालन भइरहेको छ । देशैंभर डेंगी , स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ ।
भित्री मधेस जोगबुडाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रूपमा रहेको जोगबुडा अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको छ । सो अस्पतालका एक मात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर अन्यन्त्र गएपछि १५ शैयाको अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको छ ।
समान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा तराईका अस्पताल धाउनुपर्ने बाध्यता बनेको स्थानीय महेन्द्र बोहराले बताउनुभयो । हिजोआज दैनिक रूपमा एक सयदेखि एक सय ५० सम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिस्टेन्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताउनुभयो । समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको अस्पतालका निमित्त प्रमुख बोहराको भनाइ छ ।
समायोजनपछि सरुवा भएर चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गएको तर त्यसको सट्टामा कोही आइनसकेकोले उपचारमा समस्या भइरहेको परशुराम नगरपालिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए । बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए ।
अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगर लगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका शैयाहरु खाली रहेका छन् ।