‘उडानमा ढिलाई’ भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा गरिएको दुव्र्यवहार र अपशब्द सामाजिक सञ्जालमा छाएको छ । प्रचार गरिएको जस्तो मन्त्रीको कारण एक घन्टा ढिलो भएको थिएन । मन्त्री शनिबार डलफिन महोत्सव कार्यक्रमका लागि कैलालीको टिकापुर पुग्नु भएको थियो । मन्त्री भट्टराईको शनिबार नै धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्किने पूर्वनिर्धारित तालिका थियो । तर, टिकापुरमा कार्यक्रम ढिलो भएपछि धनगढीको अन्तिम उडानबाट फर्किन सम्भव भएन ।
आइतबार, २९ भदौ २०७६ प्रतिनिधिसभामा मन्त्रालयको बारेमा संसदहरुको उत्तर दिनुपर्ने कार्यतालिका रहेको कारण मन्त्रीलाई शनिबार नै काठमाडौं फर्किनु पर्ने दबाब थियो । त्यही कारण मन्त्री बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौं फर्किन धनगढीबाट नेपालगञ्ज जानुभएको थियो । करिब ६ः ४० मा यात्रुहरुको बोर्डिङ्ग भएको थियो । यात्रुहरुभन्दा १५ मिनेट ढिला गरी करिब ६ः ५५ तिर मन्त्री विमानस्थल पुग्नु भएको थियो । नेपालगञ्ज विमानस्थल पुग्ने बित्तिकै ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको तीन चार जनाको समूहले तिव्र होहल्ला गरेका थिए ।
त्यो टोली मध्येका एकजनाले ‘पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् र त्यो हामीले कहाँ त्यो हामीले कहाँ बिर्सेका छौं र र भन्दै अपशब्द प्रयोग गरेका थिए । उनीहरुले विमानमा नै मन्त्रीलाई ‘अब देखाइदिने’ चुनौती समेत दिएका थिए । ज्ञानेन्द्र शाही लगायत उनका समुहले ‘हामी त्यसै छोड्दैनौं’ भन्दै अपशब्द प्रयोग गरेका थिए । ज्ञानेन्द्र शाही लगायतका समूह पनि त्यही विमानबाट काठमाडौं फर्किदै थिए ।
ज्ञानेन्द्र शाहीको समूह नेपालगञ्जमा एक बिरोधसभा गर्न पुगेका थिए । त्यो सभामा पनि शाहीले सरकार र गणतन्त्रको तिव्र बिरोध गरेका थिए । विमानमा समेत ज्ञानेन्द्र शाहीले मन्त्रीलाई दुव्र्यवहारका लागि अन्य यात्रुहरुलाई समेत हौसाएका थिए । शाहीले यो घटना लगत्तै मन्त्रीलाई ‘रामधुलाई’ गरेको भन्दै लेखेका छन् । शाही पछिल्लो समयमा सरकार र गणतन्त्र बिरुद्धमा आक्रमक छन् । शाहीले गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै गाली गरेका थिए । उनी साइबर अपराधमा जेठ १५ गते सुर्खेतबाट समातिएका थिए ।