डा पुष्पमणि खरालले नेपाल चिकित्सक संघको आगामी माघमा हुने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित एक कार्यक्रममा डा खरालले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
‘आदणिय अग्रज तथा साथीहरुको अपार माया र मेरो आत्मविश्वासले मलाई आज यो गर्न साहस दिलाएको छ कि आगामी नेपाल मेडिकल एशोसिएसनको चुनावमा म अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा सुदूरपश्चिमको विशाल सुन्दर नगरी धनगढीबाट गर्दैछु,’ डा। खरालले भने, ‘आशा छ, मेरो यो उम्मेदवारीलाई साथीहरुले हाम्रो साझा उम्मेदवारी भनी सहर्ष स्वीकार्नु हुनेछ र आ आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ ।’ नेपाल चिकित्सक संघको अध्यक्षका लागि डा। खरालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघिको कार्यकालमा उनले स्वतन्त्रबाटै महासचिवमा उम्मेदवारी दिएका थिए । तर, त्यो बेला उनी महासचिवमा डा। लोचन कार्कीसँग पराजित भएका थिए । उनले आफ्नो मन्तब्यमा पनि चिकित्सकहरुको हक हित सुनिश्चित गर्न भनेर पटक–पटक चुनावमा उठ्ने गरेको बताउँदैं विगतका चुनावहरूमा मत परिणाम जे आएपनि मेडिकल फ्याटरनिटीको आवाज उठाउन आफूले कहिल्यै नछाडेको उनले बताए । २१ वर्षे चिकित्सकीय जीवनमा आफूले झण्डै आधा समय काठमाडौं बाहिर बिताएको उल्लेख गर्दै डा। खरालले मोफसलमा काम गर्दा आइपर्ने समस्यालाई पनि राम्रोसँग बुझ्ने मौका पाएको बताए ।
