धनगढी,२२ भदौ ।
यतिबेला सञ्जय राणा चर्चामा छन् । अनलाईन पत्रपत्रिका, रेडियो,टेलिभिजन र सामाजिक सञ्जालमा राणाकै चर्चा छ । धनगढीमा ६४ सालमा राजेन्द्र बिक्रम चौहान नाम गरेका व्यक्तिको पनि यस्तै चर्चा थियो । सक्कली नाम ईश्वरी पोखेरल भएपनि ती व्यक्तिले भारत–नेपाल मैत्री सडक परियोजनाको प्रमुख ईञ्जिनियर भएको भन्दै नौ हजार करोड रुपैयाको सपना देखाएर धनगढीमा मै हु भन्ने धेरैलाई ठगेको थियो । ती व्यक्ति पछि पक्राउ त परे । तर धेरैले आफ्नो बेईज्जत हुने डरले उनीबाट ठगिएको कुरा समेत खोलेनन । र प्रहरीमा उजुरी पनि दिएनन । झण्डै १२ वर्षपछि धनगढीमा त्यही प्रकृतिको ठगी भएको छ । र उनीहरु सञ्जय राणा नामका व्यक्तिबाट ठगिएका छन् । ठगिनेहरुले उजुरी दिएको अहिलेसम्म बाहिर आएको छैन ।
नौ हजार करोड रुपैयाको प्रलोभन देखाएर जसरी पोखरेलले आज भन्दा १२ वर्षअघि धनगढीका दर्जनौ व्यक्तिलाई ठगे । राणाले पनि त्यसैगरी करोडौ रुपैयाको सपना र प्रलोभन देखाएर धेरैलाई ठगेको खुल्न आएको छ । दुबै कुरा गर्न भने माहिर देखिन्छन । उनीहरुको जीवनशैली, बोली, र हाउभाउको प्रभावमा जो सुकै सहजै पर्ने गरेको देखिन्छ ।
को हुन् सञ्जय राणा र
डोटीको तत्कालिन राना गाउँ गाउँविकास समिति–९ ९हाल केआईसिंह गाउँपालिकाका० का सञ्जय राणाको वास्तविक नाम सञ्जय राना हो । उनका बुवाको नाम तुले राना हो । तर उनले आफूलाई राणाको सन्तानका रुपमा चिनाउथे । बासुदेवी माविमा १० कक्षासम्म पढेका उनले एसएलसी पास गरेका छैनन । विद्यालयमा उनको नाम शेर बहादुर राना क्षेत्री थियो । उनलाई नजिकबटा चिन्नेहरु शेरु भनेर बोलाउथे । उनका बुवाको सानैमा निधन भयो । उनलाई उनकी आमाले पालिन । हुकाईन । उनकी दुई आमा थिईन । जेठी आमा पट्टी एक दाई र बहिनी छन् । उनीहरु अलग बस्छन ।
यी आफ्नी आमाका एक्ला छोरा हुन् । मटियारीमा रक्सी उद्योग नजिकै उनको कच्ची घर थियो । बुवा बितेपछि एकदशक अघि उनले कृषि विकास बैंकबाट व्यवसाय गर्ने भनेर सानो ऋण लिए । त्यो ऋणले उनलाई पुगेन । केही समयपछि उनी फेरि ऋण थप गरिदिन बैंक पुगे । बैंकले उनलाई पत्याएन । उनकी आमालाई नै बोलाएर कृषि विकास बैंकका म्यानेजरले छोरालाई सम्झाउन भने ।उनलाई जसरी पनि पैसा कमाउने भूत सवार भईसकेको थियो । उनले कृषि विकास बैंक छोडे । अनि निजी बैंकमा ऋणका लागि गए । त्यहाँ उनले नक्कली कागजात जुटाई थप ऋण लिन सफल भए ।
चौराहामा उनको बुवाको घर थियो । जसमा ग्लोबल बैंकको कार्यालय थियो । पछि उनले त्यो घर बिक्री गरे । उनले जसरी पनि पैसा कमाउने धन्दा शुरु गरे । उनी त्यही बेला देखि नेपाल राष्ट्र बैंकको नक्कली कागज देखाएर आफूलाई करोडौ रुपैया केही समय प्राप्त हुने बताएर सोझालाई ठग्न थालिसकेका थिए । उनले व्यवसायी र सर्वसाधारणबाट झुक्याएर लगेको पैसा मिटर व्याज र जग्गामा लगानी गर्न थाले । र समयमा पैसा नदिनेको घरकब्जानै गर्न थाले । त्यसको पछिल्लो पटक शिकार भएका व्यक्तिहरु थिए, धनगढी चौराहाका कामना जनरल स्टोरका मालिक मनिष शर्मा । शर्मा उनीसंग लिएको सापटी तिर्न सकेर सबै घरजग्गा जायजेथा उनलाई सुम्पेर धनगढीबाट पलायन भए । शर्मा पलायन हुनुमा धनगढीकै एक जना मिटर व्याज कारोवारीको पनि हात रहेको जानकारहरु बताउछन् ।
राणासंगकै आर्थिक लेनदेनका क्रममा धनगढीका गाउँका खेम रानाको मृत्यु भयो । राणाको भारतको एसएसवीका डिआईजीसंग पनि राम्रो सम्बन्ध र उठबस थियो । र नेपाल प्रहरीकै लम्साल थरका एक जना तत्कालिन डिएसपीसंग पनि राम्रो सम्बन्ध थियो । राणाले एसएसवीका डिआईजीलाई धनगढीका डान्सबारहरुमा लग्थे । उनका लागि खर्च गर्थे । र उनी भारतको पिलिभितमा रहेको एसएसवीको डिआईजी कार्यालयभित्र सहजै आवातजावत गर्थे । तिनै डिआईजीका कारण उनलाई सीमा क्षेत्रमा कसैले रोकटोक गर्दैनथे । र उनले त्यसको फाईदा उठाएर भारतबाट साना हातहतियार र अबैध सामग्री सहजै ल्याउने गरेको स्रोत बताउछ ।
उनका घरमा भारतीयहरुको समेत आवतजावत बाक्लो रहेको स्रोत बताउछ । यता नेपाल प्रहरीका अफिसर र सशस्त्रसंग राम्रो सम्बन्ध भएका कारण उनलाई नेपालमा पनि जे काम गर्न पनि छुट थियो । त्यही छुट पाएका कारण उनले नेपाल सरकार चलाए ।नेपाल सरकारका सम्पूर्ण कार्यालय आफ्नै घरबाट चलाए । यातायात व्यवस्था बिभाग चलाए । नेपाल राष्ट्र बैंक पनि चलाए । आफै गर्भनर भए । आफै स्थानीय सरकार प्रमुख । मालपोत आफै चलाए । नापीको हाकिम आफै बने ।
प्रहरीले यो कुरा थाह नपाएको होईन । उनले दुई वटा नागरिकता बनाएको प्रमाण फेला परेको छ । एउटा जिल्ला प्रशासन कार्यालय डोटीबाट र अर्को जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिएको देखिन्छ । एउटा सञ्जय सम्शेर जंग बहादुर राणाका नामबाट लिएका छन् । अर्को सञ्जय राणाका नामबाट छ । उनले बनाएका दुबै नागरिकता सक्कली हुन वा दुबै नक्कली, त्यसको छानबिन हुन अझै बाँकी छ । उनी नक्कली कागजात बनाउन माहिर देखिन्छन । यदि सक्कली हुन भने नागरिकता दिने अधिकारी पनि कारबाहीको दायरामा आउनेछन् ।
फेसबुक चलाउदैनन राणा
सञ्जय राणा आफ्नो नाममा फेसबुक चलाउदैनन । फेसबुकमा उनको फोटो छैन । भनिन्छ, उनी फेसबुक त चलाउछन्, तर अर्कैको नामबाट ।
आधा दर्जन बढि सीम प्रयोग गर्छन राणा
सञ्जय राणा आधा दर्जन भन्दा बढि नेपाली सीम प्रयोग गर्छन । र त्यत्तिकै संख्यामा भारतीय सीमा पनि । उनीसंग एनसेल र नेपाल टेलिकमका आधा दर्जन सीम छन् । उनी सामान्यतया एउटा व्यक्तिसंग एक पटक कुरा गरेपछि मोवाईल अफ गर्छन । र फेरि अर्को सीम प्रयोग गर्छन । उनले चाहे फोन खोल्छन । उनले नचाहेसम्म उनलाई कसैले फोन सम्पर्क गर्न सक्दैनथ्यो । कभर्ड हलको उत्तरतर्फ रहेको एउटा क्याफे उनको खास अड्डा हो । जहाँ उनले आफ्ना सहयोगी र साथीलाई खाजा खान बोलाउथे । उनी प्राय भेटिने ठाउ त्यही हो ।
घरमा सुरुङ भएको हल्ला
उनको चर्चा मटियारीमा आलिशान बंगला बनाएपछि चुलिएको हो । त्यही घरछेउमा कुनै बेला उनी काठको कच्ची घरमा बस्थे । उनको बाल्यकाल त्यही कच्ची घरमा बित्यो । उनले घर निर्माणमा महंगा भन्दा महंगा सामान प्रयोग गरेका थिए । प्रहरीलाई त उनको घरभित्र सुरुङ भएको सम्म हल्ला पुगेको स्रोतले बतायो ।
उनको सेफ्टी ट्यांकीमा पैसा राखेको हल्ला पनि नचलेको होईन । उनले घरभित्रै पैसा गाडेर राखेको हल्ला पनि चलेको थियो । केही वर्षमै उनले जोडेको करोडौको सम्पती, रवाफिलो जीवनशैलीका कारण उनी केन्द्रीय अनुसन्धान व्युरोको निगरानीमा परे ।
केही वर्षदेखि सिआईवीले उनलाई पछ्यायो । र एक साताअघि धनगढी आएको सिआईवीले उनलाई निरन्तर निगरानी ग¥यो । जव उनका बारेमा नजिकबाट धेरै कुरा जानकारी पायो, तव सिआईवीले उनलाई पक्राउ गरी उनका सबै ठेगानाहरुमा छापा मारी हतियार र सबै कागजात बरामद ग¥यो ।
पश्चिम टुडेबाट