चिटीक्क कोटपाईन्ट र नेपाली टोपीमा सजिएका थिए, नगरप्रमुख भीम देउवा । अनि, उपप्रमुख अञ्चला चौधरी साडीमा । मेयरको काँधमा थियो, उपहारको भारी । उनीहरु मुस्कुराउँदै पुगे बर्दगोरिया गाउँपालिकास्थित सहारा घरमा । थारु समुदायको अट्वारी पर्वको अग्रसान गौरीगंगा नगरपालिकाले सहारा घरलाई प्रदान गरेको छ ।
थारु समुदायले आफ्ना विवाहित छोरीचेलीलाई कोसेली स्वरुप प्रदान गर्ने अग्रासन गौरीगंगा नगरपालिकाले भने सहारा घरमा रहेका असहायहरुलाई प्रदान गरेर प्रशंसनीय काम गरेको हो । अट्वारी पर्वमा व्रतालुहरुले आफू खानुभन्दा अगाडि छुट्टै निकालेर राखेको खानाको परिकार, फलफूल लगायत विवाहित चेलीहरुलाई कोसेली स्वरुप प्रदान गर्ने कार्यलाई स्थानीय भाषामा अग्रासन भनिन्छ ।
गौरीगंगा नगरपालिकाको वडा नम्बर ८ वडा कार्यालयको आयोजनामा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित व्रत बसेका थिए । सो ठाउँमा थारु, पहाडी मिलेर व्रत बसी अट्वारी पर्व मनाएका छन् । अग्रासन दिन सहारा घर पुगेको नगरप्रमुख देउवाले सरकारले गर्ने काम एकै व्यक्तिले गरेको भन्दै सहारा घरका सञ्चालक बलबहादुर बिष्टको प्रशंसा गरे ।
‘सहारा घर नाम जस्तै साँच्चिकै सहाराको घर बनेको छ’, उनले भने । दिदीबहिनीहरुको दीर्घायुको कामना गर्दै दाजुभाइले व्रत बस्ने अट्वारी पर्वमा कोसेली दिने चलन रहेको बताउँदै उपप्रमुख अञ्चला चौधरी भनिन्–‘हाम्रो नगरपालिकाको टोलीले सहारा घरमा रहेका बेसहाराहरुलाई दाजुभाई तथा दिदीबहिनी मानेर कोसेली प्रदान गरेको हो ।’ सो अवसरमा गौरीगंगा नगरपालिकाले खाद्यान्न लगायतको सामग्री पनि सहारा घरलाई प्रदान गरेको छ । सहारा घरले ५३ जना असहाय तथा मानसिक समस्या भएका व्यक्तिहरुलाई सहारा दिएको छ ।
यसैबीच, दिदीबहिनीहरुलाई कोसेली स्वरुप सोमबार अग्रासन प्रदान गर्दै थारु समुदायको अट्वारी पर्व सम्पन्न भएको छ । थारु समुदाय प्रकृति पूजक रहेकाले सूर्यको पूजा गरेर यो पर्व मनाइने गरेको बताइन्छ ।