अस्ट्रेलियामा विमान उडाउन सिक्दै गरेका एक विद्यार्थी पाइलटले आफ्ना प्रशिक्षक बेहोस भएपछि सुरक्षित रुपमा सानो आकारको विमान अवतरण गरेका छन् ।
अस्ट्रेलियाको पश्चिमी क्षेत्रका विद्यार्थी पाइलट म्याक्स सिल्भेस्टरले आफूलाई विमान उडाउन सिकाउँदै गरेका शिक्षक बेहोस भएपछि सुरक्षित रुपमा अवतरण गरेका हुन् ।
शिक्षक बेहोस भएपछि म्याक्सले अत्तालिँदै एअर ट्राफिक कन्ट्रोलमा फोन गरेका थिए । पर्थमा रहेको विमानस्थलका अपरेटरले उनलाई विमान सुरक्षित रुपमा अवतरण गर्न सघाएका हुन् ।
आफ्नो शिक्षक बेहोस भएपछि म्याक्सले पुर्याएको बुद्धिमत्ताका लागि उनको प्रशंसा भइरहेको छ । म्याक्सले एअर ट्राफिकमा गरेको आकश्मिक सम्पर्कको क्रममा आफ्ना शिक्षकको अवस्था बारे बताएका थिए ।
त्यसपछि मात्रै उनले विमान उडाउने सम्बन्धी निर्देशन लिएका थिए । उनले कलको क्रममा भनेका थिए, ‘मेरो शिक्षक मेरो काँधमा आडेस लाग्नु भएको छ । मैले उहाँलाई होसमा ल्याउन प्रयास गरिरहेको छु तर उहाँ बेहोस भइरहनु भएको छ ।’
अपरेटरले विमान चलाउँन आउँछ भनेर सोध्दा उनले भनेका छन्, ‘यो मेरो पहिलो प्रशिक्षण हो ।’ यो उडान पूर्व उनले दुईवटा क्लास लिएका थिए तर प्रशिक्षण भने पहिलो थियो । यस्तै उनले विमान अवतरण कहिल्यै गरेका थिएनन् ।
अपरेटरको निर्देशनमा उनले झण्डै एक घण्टापछि पर्थको ज्यान्डाकोट विमानस्थलमा जहाज अवतरण गरे सुरक्षित रुपमा । उनका शिक्षकलाई त्यसपछि अस्पताल लगियो ।