सीटीईभीटीईको प्रदेश कार्यालय धनगढीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएको छ । परिषदको प्रदेश कार्यालय प्रमुख कुश्माकर भट्टले सुदूरपश्चिममा सञ्चालनमा गरिएका कृषि, ईन्जिनियरिङ र स्वास्थ्य क्षेत्रमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।
उहाँकाअनुसार सुदूरपश्चिम प्रदेशमा सीटीईभीटीईले कृषि, ईन्जिनियरिङ र स्वास्थ्य गरि तीन कार्यक्रम सञ्चालन गरिरहेको छ । तीनवटै कार्यक्रममा डिप्लोमा र प्राविधिक एसएलसी सञ्चालन गरिएका छन् । ‘सीटीईभीटीईले सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत डिप्लोमा र प्राविधिक एसएलसी सञ्चालन गरिएका छन्,’ कार्यालय प्रमुख भट्टले भन्नुभयो, ‘दुबै स्तरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छौं ।’
उहाँकाअनुसार डिप्लोमा स्तरमा एक सय ८१ जना र प्राविधिक एसएलसी स्तरमा एक सय १३ जनालाई छात्रवृत्ति दिइएको छ । जसमा छात्रवृत्ति पाउनेमा डिप्लोमा तहमा दलितको संख्या २५, जनतातीको संख्या ३१, बाहुन क्षेत्रको संख्या एक सय २३ र अन्यको संख्या दुई छ ।
यसैगरि, प्राविधिक एसएलसीतर्फ छात्रवृत्ति पाउनेमा दलितको संख्याको एक सय चार, जनजातीको संख्या ४३, बाहुन क्षेत्रीको संख्या एक सय ५४ र अन्य दुई छन् ।
सीटीईभीटीईले प्रदेश अन्तर्गत शैक्षिक सत्र २०७६/७७ मा प्राविधिक शिक्षाका विभिन्न विषयहरुमा अध्ययन गर्न आवेदन दिएका परिक्षार्थीहरुको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ । सीटीईभीटीईले सम्बन्धित स्थानीय तहको संयोजनमा सुदुरपश्चिम प्रदेशमा विभिन्न ११ वटा केन्द्र तय गर्दैप्रवेश परीक्षा सञ्चालन गरेको थियो ।
प्रदेश कार्यालय प्रमुख भट्टकाअनुसार विद्यार्थीको चाप स्वास्थ्य क्षेत्रका नर्सिङ र सामान्य चिकित्सा, फार्मेसी तथा ईन्जिनियरिङतर्फका सिभिल र सर्भेमा देखिएको छ । सुदूरपश्चिममा सीटीईभीटीईको भर्ना क्षमता छ हजार नौं सय ६ जना रहेको प्रमुख भट्टले बताउनुभयो ।
उहाँकाअनुसार कृषिमा तीन हजार ८०, ईन्जिनियरिङमा दुई हजार ३६ र स्वास्थ्यमा एक हजार ५० क्षमता छ । तर, सबैभन्दा बढी विद्यार्थीको आवेदन स्वास्थ्य क्षेत्रमा पर्ने गरेको सीटीईभीटीईले जनाएको छ ।