काठमाडौँ- एक साताअघि चितवनको एक होटलमा आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएपछि यस प्रकरणले तरङ्ग पैदा गरेको छ।
भिडियोमा पुडासैनीले आत्महत्याको निर्णयमा तीन जना व्यक्ति कारण रहेको भन्दै ‘स्ट्रेस’ दिएर बारम्बार उनीहरुको नाम लिएका छन्। तीमध्ये रवि लामिछाने र युवराज कँडेल, शालिकरामकै पूर्वसहकर्मी हुन्। रवि चर्चित टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका सन्चालक हुन् भने कँडेल पनि सोही कार्यक्रममा काम गर्छन्। केही समयअघिसम्म सोही कार्यक्रमको टिम मेम्बर रहेका पुडासैनी पछिल्लो समय माउन्टेन टेलिभिजनसँग आबद्ध थिए।
पुडासैनीको आरोप छ- उनलाई रवि र युवराज मिलेर फसाएका हुन् र मर्न बाध्य बनाएका हुन्। भिडियोमा पुडासैनीले एक युवतीको नाम पनि लिएका छन् जसलाई अघि सारेर रवि र युवराजले फसाउन खोजेको आरोप लगाइएको छ। ती युवती हुन् अस्मिता कार्की। उनले भिडियोमा अन्त्यतिर अस्मितालाई रुक्कु पनि भनेर बोलाउने गरिएको भन्दै उनको पारिवारिक सदस्यहरुको ठेगाना र पृष्ठभूमि पनि बताएका छन्।
पुडासैनी विवाहित हुन्। उनले आफुले न्युज ट्वेन्टी फोर टेलिभिजन छाड्ने मनस्थिति बनाइरहेका बेला युवराजले अस्ट्रेलिया जाने केटी मिलाइ दिने भन्दै अस्मितासँग भेट गराएको बताएका छन्। भिडियोमा उनले पछि अस्मितासँग आफू हदैसम्म नजिक भएको र राजधानीको एक अस्पतालमा नर्सको जागिर समेत लगाइदिएको बताएका छन्। तर ती युवतीले हेप्न थालेपछि आफु टाढिएको र त्यसै सन्दर्भमा सिधा कुरा जनतासँग कार्यक्रमबाट पनि अलग्गिएको भिडियोमा पुडासैनीको दावी छ।
भिडियो बाहिरिएसँगै पुडासैनीले पोलेका युवराजले आरोपको ठाडै अस्वीकार गरेका छन्। ‘मेरी आमाको कसम खाएर भन्छु, सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडीदिएको छु,अनि अस्ट्रेलिया पठाइदिने लगाएतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु। सबैकुरा छानबिन होस। हामीले कुनै अपराध गरेका छैनाैँ’, सामाजिक सञ्जालमा युवराजले लेखेका छन्।
यता रविले पनि आरोप अस्वीकार गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो- शालिकरामलाई ठूलो भ्रम परेछ।’ बुधबार साँझ रविले सामाजिक सन्जालमा लेखेका थिए।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सार्वजनिक भएको भनिएको भिडियोको फरेन्सिक टेस्ट भइरहेको र अहिले नै केही भनिहाल्न नमिल्ने बताएका छन्। उनले किटानी जाहेरी पनि नपरेको बताएका छन्। तर बिहीबार बिहान राजधानीबाट अस्मिता कार्की पक्राउ परेको र उनलाई चितवन लगिँदै गरेको प्रहरी स्रोत बताउँछ। ओखलढुंगा स्थायी घर भएकी अस्मिता राजधानीको आरुबारीमा बस्दै आएको पुडासैनीले भिडियोमा बताएका थिए।
यसैबीच नेपाल पत्रकार महासंघले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथी कारबाही गर्न माग गरेको छ।