एजेन्सी । फ्रान्सेली लिग वानको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले उत्कृष्ट सुरुवात गरेको छ । आइतबार आफ्ना स्टार खेलाडी नेयमारविनानै मैदान उत्रेको पीएसजीले लिगको पहिलो खेलमा निम्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीलाई जित दिलाउन खेलको २४ औँ मिनेटमा ईडिन्सन काभानीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पीएसजीका लागि खेलको ५६ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए । खेलको ६९ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै टिमको जित निश्चित पारे । जितसँगै साविक विजेता पीएसजीले नयाँ सिजनमा तीन अंक जोड्दै सुखद सुरुवात गरेको छ ।