बैतडी- बेवारिसे झोलामा एक लाख रुपैयाँ नगदसहित ५ लाख ४० हजारको चेक भेटिएको छ। जयपृथ्वीराजमार्ग अन्तर्गत सिगास गाउँपालिका र सूर्नया गाउँपालिकाको सीमाना नाचनथलीमा झोला भेटिएको हो।
बझाङको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्कासहितको टोलीले रकम सहितको झोला भेटेको हो। धनगढी जाने क्रममा सडक छेउमा झोला देखिएको र नगर प्रमुखले कसैको महत्वपूर्ण सामग्री भएको हुन सक्छ भनेपछि आफूहरुले झोला ल्याएको मेयरसँगै रहेका जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक सिंहले जानकारी दिए। उनले भने ‘हामीले सडक छेउमा झोला देख्यौं।
‘कसैको महत्वपूर्ण झोला हुन सक्छ भनेर मेयरसापले ल्याउन आग्रह गर्नुभयो’, उनले भने, ‘त्यसपछि हामीले झोला हेर्दा बझाङकै मान्छेको नागरिकता भेटायौं।’ झोलामा बझाङ देउलीकोटका वसन्त बोहराको नागरिकता र अन्य प्रमाणपत्र फेला परेपछि बैतडी प्रहरीले नबुझाई सिधै धनगढी ल्याएको सिंहले बताए। उनले भने, ‘झोला हेर्दा नागरिकता र प्रमाणपत्र मात्र नभइनगद एक लाख र ५ लाख ४० हजारको चेक पनि भेट्टायौं।’
झोलामा भेटिएको नागरिकता र अन्य प्रमाणपत्रको आधारमा सम्बन्धित व्यक्तिलाई खबर गरिसकिएको सिंहले बताए । उनले भने, ‘बसन्त बोहराका दाजुसँग हाम्रो कुराकानी भइसकेको छ। वसन्त बोहरा साँझसम्म आइपुग्छन्। हामी सम्बन्धित मान्छेलाई झोला बुझाउनेछौं।’फेला परेको बेवारीसे झोला प्रहरीको रहोबरमा सम्बन्धित व्यक्तिलाई बुझाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। झोला कसरी छुटेको हो भन्ने अहिलेसम्म खुलेको छैन।