धनगढी, १६ साउन –
नेकपा विप्लव समुहले एनसेलका टावरहरुमा आगजनी गरेको छ । कैलाली डडेल्धुरा वझाङ र डोटी जिल्लाका एनसेल टावरहरुमा विप्लव समुहले एकै रातमा आगजनी गरेको हो ।
कैलालीको धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा विप्लव समुहद्धारा आगजनी गरिएको छ । प्रहरीका अनुसार बुधबार राती सवा १२ बजेको समयमा आगजनी गरिएको हो । गेटको ताला काटेर टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताउनुभयो । आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन् ।
विप्लव समुहले नै डडेल्धुरामा गएराति एनसेलको टावरमा आगजनी गरेको छ । जिल्लाको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको टावरमा आगजनी गरिएको हो । बुधबार राति ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो । टावरमा आगजनी भएपछि गएरातिदेखि नै जिल्ला सदरमुकाम क्षेत्रमा एनसेलको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
डोटीमा पनि विप्लव समूहले एनसेलको टावर जलाएको छ । डोटीमा बुधबार राति एनसेलको टावर विप्लव समुहले जलाएको हो । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको हो । टावरमा मध्य रातीको समयमा भएको आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस ¥याक, ब्याट्री ¥याक, एसइडिपी च्यानल लगायतका सामानहरु जलेर क्षति भएको एनसेलका स्थानीय प्रतिनिधि मानसिहं धामीले जानकारी दिनुभयो ।
यस्तै उता बझाङ जिल्लामा रहेका एनसेल टावरमाथि पनि आगजनी भएको छ । गए राति जिल्लाको मष्टा गाउँपालिका, थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा बिप्लव समूहले आजजनी गरेको त्यहाँका स्थानिय वासिन्दाहरुले बताएका छन ।