राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता सुदूरपश्चिमका खेलाडीलाई नेपाली कांग्रेस क्षेत्र नं। १ कैलालीले नगद रकम सहित सम्मान गरेको छ । कांग्रेसले राष्ट्रपति खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट स्वर्ण पदक विजेता सिमा चौधरी, केशर मास्के र कास्य पदक विजेता एकेन्द्र बिकलाई सम्मान गरेको हो । कांग्रेसले स्वर्ण विजेता चौधरी र मास्केलाई जनही ६ हजार नगद र कास्य विजेता बिकलाई ४ हजार ५ सय नगद, सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो । कांग्रेसले टीकापुरको खेल विकासमा योगदान दिएको भन्दै नेपाल सेपाकताक्रो संघका केन्द्रीय उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय रेफ्री अर्जुन ठकुल्लालाई दोसल्ला ओढाई सम्मान गरेको छ ।
काठमाण्डौमा सम्पन्न राष्ट्रपति खेलकुद प्रतियोगितामा सिमा चौधरीले ८ सय मिटर र १५ सय मिटर दौडमा दुई स्वर्ण दिलाएकी थिइन् । त्यस्तै, केशर मास्केले १५ सय मिटर र ३ हजार मिटर दौडमा दुई स्वर्ण जितेका थिए । त्यस्तै, टीकापुरकैै एकेन्द्र बिकले १५ सय मिटर दौडमा द्धितीय स्थान हासिल गरी कास्यपदक हात पारेका थिए । सुदुरपश्चिमले जम्मा ५ स्वर्ण जितेको थियो जसमा ४ स्वर्ण टीकापुरका खेलाडीले जितेका थिए । यसअघि जिल्ला स्तरमा पालिका स्तरीय भएको खेलमा समेत टीकापुर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड जितेको छ । टीकापुरका खेलाडीले २६ स्वर्णमा १८ स्वर्ण जितेका छन् ।
खेलाडीलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेशका सांसद डाक्टर रणबहादुर रावलले खेल प्रवद्र्धनका लागि खेलाडीलाई हौसला र सम्मान आवश्यक रहेको बताउनुभयो । ‘‘खेल जित्नका लागि मात्र होइन, खेल मानिसको अनुशासन, स्वास्थ्य र देशको समृद्धिसंग पनि जोडिएको छ ।’’ सांसद रावलले भन्नुभयो ‘‘खेलाडी देशकै गहना भएकोले खेलाडीका लागि आवश्यक पूर्वाधार तयार गरिदिनुपर्छ ।’’ सांसद रावलले यो क्षेत्र खेलाडीका लागि उर्वर भूमि रहेको बताउनुहुन्छ ‘‘जगत टमट्टा, अर्जुन ठकुल्ला जस्ता अन्र्तराष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलाडी यहां छन्, खेलाडीका लागि आवश्यक सामग्री, खेल मैदान, आर्थिक सहयोग जस्ता कुरामा सबैको सहयोग चाहिन्छ ।’’
खेलका नाममा स्थानीय तथा प्रदेश सरकारले लाखौं रकम खर्च गरेपनि उपलब्धी दिलाउने खेलाडीमार्थि खर्च गर्न कन्जुस्याई गरेको बताउनुभयो । रावलले टीकापुरमा खेलकुदका लागि २२ विगाह जग्गा भएकोले खेलकुद प्रतिष्ठान बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।
सम्मानपछि नेपाल सेपाकताक्रो संघका केन्द्रीय उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय रेफ्री अर्जुन ठकुल्लाले टीकापुरका खेलाडीले राम्रो प्रदर्शन गर्नुका साथै नेपालमै टीकापुरलाई खेल क्षेत्रमा चिनाउन सफल भएको बताउनुभयो । ‘‘खेलाडीलाई खेल मैदानको अभाव छ, नियमित ब्यापाम गर्नुपर्ने भएकोले पोषण खानसक्ने अवस्था छैन ।’’ ठकुल्ला भन्नुहुन्छ ‘‘यस्ता साना साना कुरामा सहयोग पाएमा खेलाडीले अझ राम्रो गर्न सक्छन् ।’’
नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले राष्ट्रको, ठाउंको पहिचानसंग खेलाडीको नाम जोडिने भएकोले खेलाडीका लागि आवश्यक पूर्वाधार तयार समुदायले गरिदिनुपर्ने बताउनुभयो । उहांले खेलाडी सबैको गहना भएकोले सम्मान गरेको बताउनुभयो । ‘‘टीकापुर नगरपालिकामा ७४ करोड बजेट भएपनि खेलाडीको सम्मानमा खर्च गर्न कुन्जुस्याई गरेको देखियो ।’’ सभापति अधिकारीले भन्नुभयो ‘‘स्वर्ण दिलाउने खेलाडीलाई अलि धेरै रकम दिन कन्जुस्याई गर्न नहुने हो । खेलाडीलाई खेल खेल्नका लागि धेरै खर्च चाहिन्छ, रकम दिंदा सम्मान जनक व्यवहार हुनुपर्छ ।’’
नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझाले विद्यालय स्तरबाटै खेल गतिविधि बढाउन हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था हुनुपर्ने बताउनुभयो । क्षेत्रीय सचिव प्रकाश शाहले संचालन गर्नुभएको कार्यक्रममा स्वागत नगर सभापति धनराज उपाध्यायले गर्नुभएको थियो ।