पार्टी सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ । महिला संघको केन्द्रिय समितिले तदर्थ समितिको जिम्मेवारी बाडफाड गरेपछि विवाद बढ्दै गएकोमा मंगलवार पार्टी कार्यालयमा हातपात भएपछि विवाद उत्कर्षमा पुगेको हो । मंगलबार तत्कालिन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा पार्टी कार्यालय डडेल्धुरामा मासिक बैठक चलिरहेका बेला कार्यालय सचिव रामवहादुर विष्टले महिला नेतृहरुमाथि हातपात गरेपछि अहिले पार्टीको विवाद सतहमा आएको हा े। उक्त घटनापछि पार्टी निकटका संगठनहरुविच एकअर्कालाई आरोप–प्रत्यारोप सुरु भएको छ । बुधवार एक र बिहिवार ६ वटा विज्ञप्ती निकाल्दै एकअर्काप्रति आरोप–प्रत्यारोप लगाईएको छ । सात वटा विज्ञप्ती मध्ये चार वटा विज्ञप्तीमा महिलाहरुले पार्टी कार्यालयमा तोडफोड गरिएको भन्दै आपत्ती जनाईएको छ भने तीन वटा विज्ञप्तीमा महिलाहरुमाटि कुटपिट भएको भन्दै आपत्ती जनाईएको छ ।
नेपाली कांग्रेस डडेल्धुराले पार्टी कार्यालयमा तोडफोड गरी महत्पूर्ण काकजात समेत नष्ट गरेको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यवाहक पार्टी सभापति करुणाकर भट्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । कांग्रेस कार्यालयमा भएको भौतिक संरचना तोडफोडप्रति तरुण दल डडेल्धुराले पनि आपत्ती जनाएको छ । बिहीबार नै नेपाल तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर साउँदले प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनाप्रति आपत्ति जनाएका हुन् ।
नेपाल किसान संघ डडेल्धुराले पनि महिला संघको हवला दिने महिलाहरुले पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल किसान संघका अध्यक्ष धनबहादुर साउँदले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् । यस्तै तत्कालीन महिला संघकी अध्यक्ष कमला विष्टले पनि महिला संघको हवला दिने अराजक महिलाहरुले पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै विज्ञप्ती जारी गरेकी छिन् ।
यता दलित संघ डडेल्धुराले भने कार्यालय सचिव विष्टले महिला नेतृहरुमाथि कुटपिट गरेको भन्दै आपत्ती जनाएको छ । संघका अध्यक्ष सन्तोष जैरीले विज्ञप्ती जारी गर्दै घटनामा संग्लनलाई कारवाहीको माग गरिएको छ । नेपाली काँग्रेस अमरगढी नगर कार्यसमितिले पनि विज्ञप्ती जारी गर्दै महिला नेतृमाथि भएको आक्रमणको निन्दा गरेको छ । नगर सभापति दानवहादुर पालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा महिलाहरुमाथि भएको हातपातप्रति ध्यानाकषर्ण गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ । यसअघि महिला संघ जिल्ला स्तरीय तदर्थ समितिले विज्ञप्ती जारी गदै पार्टी सभापति मल्लको ठाडो निर्देशनमा कुटपिट भएको आरोप लगाएको थियो ।
मंगलवार डडेल्धुरामा महिला संघकी नेतृहरुमाथि कुटपिट भएको थियो । महिला संघ तदर्थ समितिकी संयोजक तथा परशुराम नगरपालिकाकी उप–मेयर कलावती बोहरा, उप–संयोजक बसन्ती भण्डारी लगायतका नेतृहरुमाथि कुटपिट भएको हो । जिल्लामा नेपाल महिला संघ केन्द्रीय समितिले डडेल्धुरा महिला संघ तदर्थ समितिको संयोजकमा बोहरालाई मनोनय गरेपछि विवाद बढ्दै गएको थियो । कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले लेटरप्याडको दुरुपयोग गरी संयोजक चयन गरिएको दाबी गर्दै आएका थिए । पछिल्लो समय देउवा पत्नी राणा र जिल्ला सभापति मल्लबीच खटपट बढ्दै गएपछि डडेल्धुरा काग्रेसमा विवाद झनै बढेको छ ।
कुटपिटकै घटना कसरी भयो?
नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल महिला संघ डडेल्धुराको तर्दथ समितिको बैठक बस्न पार्टी कार्यालयको चावी पूर्व सभापति रघुवर भट्ट पक्षका महिलाहरुले नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशका सासंद कर्णबहादुर मल्ल र पार्टीको कार्यालय सचिव रामबहादुर बिष्टलाई फोन गरें ।
उनले आफूलाई महिला संघ डडेल्धुराबारे कुनै पनि अधिकारीक पत्र समेत नभएकाले तपाईँ के को बैठक बस्ने हो ? भन्दै चावी नदिने भनेपछि महिलाहरुले कार्यालयको चावी नै तोडेर बैठक संचालन गरी रहेको समयमा एक्कासी पार्टीको कार्यालय सचिव बिष्टले आफूहरुमाथि कुर्ची प्रहार गरेको महिला नेतृहरुको आरोप छ ।
स्रोतका अनुसार बैठक हलमा रहेका १० महिलालाई बिष्टले कुर्चीले कुटे । नेपाल महिला संघ डडेल्धुराका उप–संयोजक बसन्ती भण्डारीलाई कुटपिट गरी गम्भीर घाइते भएको महिला संघकी नेतृ सरस्वती खड्काले बताइन् ।
उनले नेपाली काग्रेस डडेल्धुराका उप–सभापति करुणाकर भट्टले समेत गाली बेइज्जती र धम्की दिएको आरोप लगाइन् ।‘उप–सभापति भट्टले महिलाहरुलाई अलि बढी कुटनु पर्ने, कम किन कुट्नु भयो’ भनेर भनेको महिला नेतृहरुको भनाइ छ । आफूहरुलाई पार्टी कार्यालयको बाहिर पनि नबस्न दिएको महिलाहरुको गुनासो छ ।
४ वर्षदेखि विवादमा रहेको महिला संघ डडेल्धुरा विधि विधानअनुसार गठन हुनु पर्ने अधिकांशको माग पछि संघलाई वैधानिकता दिन केही दिन अगाडि केन्द्रीय छानविन टोली डडेल्धुरा पुगेर छानविन गरेपछि गरी परशुराम नगरपालिकाकी उपप्रमुख कलापती बोहरालाई संयोजक तोकेको पत्र आएको एक पक्षको दाबी छ । पत्र उप–सभापति करुणाकर भट्टलाई नै दिएका उनीहरुको भनाइ छ ।
देउवाको गृहजिल्लामा महिला संघ विवाद के हो?
केन्द्रको निर्देशनानुसार परशुराम नगरपालिकाकी उपप्रमुख रहेकी तदर्थ समिति संयोजक कलावती बोहराले जिल्ला तदर्थ समितिलाई पूर्णता दिएकी छन् भने संघकी तत्कालिन अध्यक्ष कमला बिष्ट समर्थक महिला संघका पदाधिकारीहरुले भने पुरानै समिति कायम रहेको जिकिर गरिरहेका छन् ।
महिला संघमा उत्पन्न विवादकैबीच मंगलबार नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालय कृष्णप्रसाद भट्टराई स्मृित भवनमा तनाव उत्पन्न भएको हो । महिला संघ केन्द्रीय समितिको निर्देशनमा गठन गरिएको भनिएको तदर्थ समितिका पदाधिकारीहरुले पार्टी कार्यालयमा पुगेर ताला फुटालेर कार्यालयमा प्रवेशगर्दा तनाव भएको हो ।
यस विषयमा पूर्वसभापति रघुवर भट्टले भने आफूले अहिले नै प्रतिक्रया दिनु आवश्यक नरहेको बताउँछन् । सभापति मल्ल पक्षले कमला बिष्ट, संघको अध्यक्ष हो भन्ने अडानमा छ । भने, पूर्वसभापति रघुवर भट्ट र केन्द्रीय सभापति शेरबहादुर देउवा पत्नी आजुराणा देउवाले बोहरा नै अधिकारी भएको बताउँदै आएका छन् ।






