जगत देउवा
धनगढी, ९ असार/ सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्ष २०७५र७६ को जेठ मसान्तसम्म ३७ करोड राजश्व सङ्कलन गरेको छ ।कार्यालयले सवारी साधन कर, चालक अनुमतिपत्र दस्तुर, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट रु ३७ करोड १६ लाख २९ हजार २४२ राजश्व सङ्कलन गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले जानकारी दिनुभयो ।
निमित्त प्रमुख विष्टले अघिल्लो आव २०७४र७५ मा उठेको राजश्व बराबरको रकम चालू आव सकिनुभन्दा एक महीना अगाबै सङ्कलन भएको उल्लेख गर्नुभयो ।अघिल्लो आवमा कार्यालयले रु ३७ करोड ३८ लाख ३२ हजार ४८० राजश्व सङ्कलन गरेको थियो । त्यसैगरी आव २०७४र७५ को साउन महीनादेखि स्मार्ट लाइसेन्स वितरण कार्य शुरु गरेको कार्यालयले हालसम्म १३ हजारलाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।
प्रमुख विष्टले हालसम्म स्मार्ट लाइसेन्सका लागि करीब रु २९ हजार ५८२ जनाले आवेदन दिएको र तीमध्ये १३ हजार २४४ जनालाई लाइसेन्स वितरण गरिएको बताउनुभयो । यातायात व्यवस्था कार्यालय सेतीले शुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गर्दै आएको थियो । हाल नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपि बनाउने, थप सवारी चालक अनुमतिपत्र बनाउने लगायतलाई पनि उक्त लाइसेन्स वितरण गरिँदै आएको छ ।