“मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,” मौसमविद गंगा नगरकोटीले भने, ‘प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ ।
त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’
यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ ।
नगरकोटीले भने, “दक्षिण भारत आइपुगेको मनसुन त्यही रहेकोछ ।” अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो ।
उनका अनुसार न्यून चापीय रेखाले नेपालको हिमाली रेखा छुनु पनि वर्षा हुने एउटा आधार हो । वरिष्ठ मौसमविद मदनलाल श्रेष्ठका अनुसार मनसुन सुरु हुन उच्च चापीय दक्षिणपूर्वी वायुले न्यून चापीय पश्चिमी वायु विस्थापित गर्नुपर्छ ।
“पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र धर्तीमा बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्छन,” उनले भने, “तर मनसुन प्रक्रिया अगाडि नबढ्दा अत्यधिक गर्मी भएको हो ।” मनसुन सुरु हुने बेला प्रायः यही खालको तापमान देखिने भएपनि यो वर्ष अलिक लामो भएको उनले बताए ।
तातिँदै मुख्य शहर
यसवर्षको मे महिनामा अर्थात् वैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो ।
तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो ।
यस्तै मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो । मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम छ ।
गतवर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ ।
वैशाख २९ गते पोखरामा ३२.७ डिग्री तापक्रम थियो । अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो ।
तर अहिले बढेर ३८.० डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ ।