विराटनगर : इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चाैधरीले मानसिक सन्तुलन गुमाएको हुन सक्ने युवा संघ माेरङ पूर्वजिल्ला अध्यक्ष तथा नेकपा नेता पर्शुराम बस्नेत बताएका छन्।
मेयर चौधरीले पत्रकारको नाकको डाँडी भाँच्ने र त्यस कामका लागि रकम छुट्याएकाे र आफ्नाे नाम पनि जाेडेकाे भनेपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन्।
इटहरीका मेयर चौधरीले मंगलबार पत्रकार विराट अनुपमलाई टेलिफोनमा नाकको डाँडी भाँच्न एक करोड छुट्याएको बताएका थिए। चौधरीले पत्रकार रवि लामिछानेसँगको टेलिफोन सम्वादमा पनि पर्शुराम बस्नेतको नाम जोड्दै विराटनगरमा पत्रकार कुट्नेलाई प्रहरी प्रशासनले केही नगरेको बताएका थिए।
पर्शुराम बस्नेतको नाम जोड्दै मेयरले धम्की दिएपछि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत मानसिक सन्तुलन गुमाएको उल्लेख गर्दै अराजक गतिविधि गर्ने जनप्रनिधिलाई राज्य र पार्टीले दुवैले कारवाही गरी बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
उनले लेखेका छन्, ‘ समाजिक सञ्जाल र केही मिडियामा इटहरीका मेयर सापले मेरोसम्म नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यदि मेरो साइनो–सम्बन्धबेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयर सापले गरेको हो भने उहाँले मानसिक सन्तुलन गुमाएको हुनुपर्छ। यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुवैबाट कारवाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु ।’
