महेन्द्रनगर, १६ जेठ/ महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको शिविरमा विशेषज्ञ चिकित्सकहरु सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको उपस्थितिमा शिविर सुरु गरिएको छ । दुई दिनसम्म चल्ने शिविरमा नाक, कान, घाँटी, छाला, यौन रोग सहितका रोगको निःशुल्क जाँच भई रहेको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएकाले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको बताए ।
‘नगर वासीले सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले यो शिविर आयोजना गरिएको छ’ उनले भने । नगरवासीको स्वास्थ्य अधिकार सुुनिश्चित गर्नका लागि स्वास्थ्य शिविरका कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख विष्टको भनाई थियो ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले गत वर्ष सबै वडामा एकीकृत जनस्वास्थ्य अभियान सहित विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेका थिए । ती कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । भीनपाको दुर्गम वस्ती खल्ला मुसेट्टीमा गत वर्ष पहिलो पटक विशेषज्ञ शिविर आयोजना गरिएको थियो ।
नगर प्रमुख विष्टले स्वास्थ्य सेवालाई वडा वडामा पुगाउन स्वास्थ्य संस्था स्थापना र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।
कार्यक्रममा भीनपा सामाजिक विकास समितिका संयोजक हरक सिह धामी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा लगायतका सहभागी भएका छन् ।
शिविरमा इएनटी डा। सुलभ श्रेष्ठ, छाला तथा यौन रोग डा. सुमित पाण्डेय, स्त्री रोग डा। सृष्टि जोशी र मधुमेह तथा जनरल फिजिसियन डा। प्रवेश पन्त स्वास्थ्य जाँच गरिरहेका छन् ।

