कैलाली : धनगढीमा हुने आरबीए नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ। बिहीबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने प्रतियोगिता राष्ट्रिय गोजुरियो कराँत दो संघले आयोजना गरेको हो।
बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा सार्क राष्ट्रका नेपाल लगायत ६ मुलुकको सहभागिता रहने छ।
विगत १६ वर्षदेखि धनगढीमा आयोजना भइरहेको प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुने आयोजनाले जनाएको छ। प्रतियोगितामा सात वटै प्रदेश, स्कुल, कलेज, डोजो, विभागीय टिमका साथै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका गरी झण्डै ६ सय भन्दा बढी महिला तथा पुरुष खेलाडीहरूले सहभागिता जनाउने छन्।
उनीहरू सहभागिताका लागी धनगढी पुगिसकेका छन्। प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने छ।
तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कांस्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक प्रकाश चन्दले जानकारी दिए। प्रतियोगिताको प्रथम हुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरस्कार पाउने छन्।
