धनगढी, जेठ ०८
धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ। वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि जितेको हो। एसटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २÷२ गोल गरे। उपाधिसंगै एसटिएसले नगद १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजार सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।
यसअघि आजै भएका सेमीफाईनलको पहिलो खेलमा पश्चिम टुडेले धनगढी एफएमलाई पराजित गरेको थियो भने एसटिएसले वावा टेलिभिजनलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटिएसका सागर शाह भए। प्रतियोगितामा फेयर प्ले अवार्ड दिनेश एफएमले जितेको छ। यस्तै प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण योगदान पुगाएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको छ। जेठ ४ गतेदेखि सुरु भएर जेठ ८ गते सकिएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगितामा नौ वटा टीमले भाग लिएका थिए ।
प्रदेश सभा सदस्य हर्क कुँवर गोविन्दको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको हो। कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितिका बरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह लगायतको पनि सहभागिता रहेको थियो। समापन समारोहमा सुदुरपश्चिम स्तरीय मिडिया कप फुटसल प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरिएको छ ।
यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आईसनले मुख्य प्रायोजन गरेको थियो भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले हेरेको थियो ।