सरस्वती कुमारी साफरी
धनगढी, जेठ/सुदूरपश्चिम प्रदेशका सुत्केरी महिलाहरुले अझै स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाईने यातायात खर्च तथा सुत्केरी भत्ता पाउन सकेका छैनन् । प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको सेति अञ्चल अस्पतालमा एक हजार बढी महिलाले ५ महिनादेखि यातायात खर्च र सुत्केरी भत्ता पाएका छैनन् ।
सरकारले यातायात खर्च र प्रोत्साहन भत्ता दोब्बरले गरे पनि सो अनुसारको वजेट विनियोजन नगर्दा कुनै पनि स्वास्थ्य संस्था र अस्पतालले सुत्केरी महिलालाई यातायात खर्च तथा सुत्केरी भत्ता प्रदान गर्न सकेका छैनन् ।
‘वैशाख १६ गते श्रीमतीलाई लिएर आएको, जाने बेला सुत्केरी भत्ता दिएनन्’ सेती अञ्चल अस्पतालमा श्रीमतीलाई सुत्केरी गराउनु भएका महेन्द्रनगर सिसैयाका दिपक ठगुन्नाले भने, ‘अस्पतालले सुत्केरी भत्ताका लागि असारमा आउनु भनेर फर्काएको हो ।’
सेती अञ्चल अस्पतालमा एक हजार सुत्केरी महिलाले सुत्केरी भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य संस्थामा महिलाले बच्चा जन्माएवापत पाउनुपर्ने सुत्केरी भत्ता समयमा नपाएको सुत्केरी महिलाको गुनासो छ । माघ अन्तिम सातादेखि अस्पतालमा सेवा लिएका सबै सुत्केरीले सुत्केरी भत्ता नपाएको बताएका हुन् ।
‘श्रीमतीलाई चैत्रमा सुत्केरी गराएर लगेको, सुत्केरी भत्ता अहिलेसम्म पाएको छैन’ धनगढी उपमहानगरपालिका–९ का जितु बहादुर कुँवरले भने, ‘औषधि लगाएत चेक जाँचको सेवा निःशुल्क रुपमा पाइरहेको भएपनि सुत्केरी भत्ता भने अहिलेसम्म पाएका छैनौं ।’ सुत्केरी भत्ता वापतको रकम निकाशा नभएका कारण सुत्केरी भत्ता उपलब्ध गराउन नसकेको अस्पतालले बताएको उनको भनाइ छ । ‘हुन त हजार पन्ध्र सय रुपैयाँले केहि हुँदैन तर, महिला सुत्केरी भएको बेला त्यसले पनि केही राहत पुग्छ’ जितुले बताए ।
सेती अस्पतालबाट मात्रै चालु आर्थिक वर्ष २०७५÷७६ को चैत्र मसान्तसम्म पाँच हजार पाँच सय ६१ महिलाले सुत्केरी सेवा लिएका छन् । जसमा एक हजार बढी महिलाले यातायात खर्च र प्रोत्साहन भत्ता पाउन सकेका छैनन् ।
‘डडेल्धुराको आलिताल गाउपालिका–८ बाट श्रीमतीको सुत्केरीको लागी सेति अञ्चल अस्पताल पुगेका बिरेन्द्र आले मगरले रकम समयमा प्राप्त भएको भए सुत्केरी महिलाको खानपिनमा खर्च गर्न सजिलो हुने भए पनि अहिले अस्पतालले वजेट छैन भनेर फर्काएको गुनासो गरे ।
बच्चा जन्मेका बेला पाउनुपर्ने सुत्केरी भत्ता लामो समय बितिसक्दा पनि सुत्केरी महिलाले नपाउँदा सरकारले लागु गरेको कार्यक्रम व्यर्थ बनेको सेवाग्राहीको गुनासो छ । सरकारले लोकप्रियताको लागी कार्यक्रम सार्वजनिक गर्ने तर, कार्यान्वयन नहुने हँुदा आफुहरुलाई समस्या हुने कञ्चनपुर बेतकोट नगरपालिका–६ का गौरव पनेरुले बताए ।
पटक–पटक मन्त्रालयमा वजेट माग गर्दा पनि सुनुवाई नभएको अस्पताल प्रशासनले जनाएको छ । हालसम्म सेवा लिएका एक हजार बढी महिलाले यातायात खर्च र सुत्केरी भत्ता पाउन सकेका छैनन् । तत्काल सेती अञ्चल अस्पतालमा ६० लाख बढी रकम आवश्यक रहेको अस्पतालका लेखा अधिकृत मदन सिंहले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले रकम उपलव्ध नगराउँदा समस्या देखिएको उनको भनाई छ ।
तर, सामाजिक विकास मन्त्रालयले भने केन्द्रीय सरकारले रकम उपलब्ध नगराएका कारण समस्या भइरहेको भन्दै पन्छिने गरेको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले केन्द्र सरकारले रकम उपलव्ध गराउने बित्तिकै रकम अस्पताललाई हस्तान्तरण गर्ने बताए । यद्यपी कहीले रकम आउँछ भन्ने कुरामा भने उनी आफै अनविज्ञ छन् ।
सरकारी अस्पतालमा सुत्केरी गर्न आउने महिलालाई सरकारले सुत्केरी प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । यातायात र प्रोत्साहन भत्तालाई दोब्बर पार्दै गत वर्षदेखि हिमाली क्षेत्रमा ३८००, पहाडी क्षेत्रमा २८ सय र तराईका महिलालाई १८०० रुपैँया उपलब्ध गराइँदै आएको भए पनि रकम अभाव देखाउँदै ५ महिनादेखि सुदूरपश्चिम प्रदेशमा प्रदान गरिएको छैन । सरकारले लोकप्रियताका लागि कार्यक्रम घोषणा गर्ने तर, रकम अभाव देखाएर बन्द गरेको भन्दै सुत्केरी र आफन्तहरु आक्रोशित बनेका छन् ।