हिमेश बिक/कैलाली : कञ्चनपुरको सीमावर्ती क्षेत्रमा सादा पोसाकमा खटिएका नेपाल प्रहरीले नै सर्वसाधारणलाई धम्क्याउने र रकम असुल्दै आएको खुलासा भएको छ। शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्न खटिने प्रहरी अहिले आफैं पैसा असुलेर जनतालाई दुःख दिने गरेको भेटिएको छ।
प्रहरीको यस्तो हर्कतप्रति स्थानीय सर्वसाधारण अहिले आक्रोशित भएका छन्। कञ्चनपुरको सिमावर्ती क्षेत्र पुनर्वास नगरपालिकामा भारतबाट सामान किनमेल गरी फर्किने सर्वसाधारण स्थानीय सुरक्षाकर्मीबाट यसरी पीडित हुने गरेका छन्।
सुरक्षाका लागि खटिएका प्रहरीले मनपरी ढंगले रकम असुल्ने र नदिए लागू औषध कारोबारमा फसाउने धम्की दिने गरेको स्थानीयले गुनासो गरेका छन्। भारतीय बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत पटक पटक पैसा असुल्ने र बिवाद गरे लागू औषधमा फसाइदिन्छु भनी धम्क्याउने गरेको धनगढीका रोहीत रावलले बताए।
उनले भने, ‘केही दिनअघि मात्रै भारतिय बजारबाट आउँदै थिए। घुमुवा प्रहरी भरत सिंहले पैसा निकाल भन्दै धम्की दिए। मसँग पैसा थिएन्। त्यसपछि उसले ममाथि हातपात गर्यो र झोलामा भएको ल्याप्टप फुटाइदियो।’ घुमुवा प्रहरीले आफूलाई दुव्र्यवहार गरेको भन्दै पटकपटक प्रहरीमा उजुरी दिँदा समेत सुनुवाई नगरेको रावले बताए।
घुमुवा सिंहले साथमा रहेको हतियार देखाएर धम्की दिइ आफूबाट पटकपटक रमक असुल्ने गरेको अर्का स्थानीय हर्क चौधरीले गुनासो गरे। ‘सामान्य घरायसी परियोजनका लागी भारतीय बजारबाट सामान ल्याउँदै थिए’, उनले भने, ‘घुमुवा सिंहले पैसा नदिए फसाउने भन्दै आफूसँग भएको सबै नगद लग्यो।’ सादा पोसाकका प्रहरी भरत सिंहले लामो समयदेखि अवैध कारोबार गर्नेलाई समेत सघाएको पनि स्थानीयले खुलासा गरेका छन्।
स्थानीय जानु कुरेकोले आफूहरूबाट पटकपटक सिंहले पैसा असुल्ने गरेको भन्दै प्रहरीलाई गुहारे पनि कुनै सुनुवाई नभएको दुखेसो गरे। सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको लुटपाट र दुव्र्यवहार खेप्दै आएका नेपाली अहिले नेपाल प्रहरीद्वारा नै दुर्व्यवहार र धम्की सहन बाध्य छन्।
सीमा क्षेत्रमा बिगत लामो समयदेखि सर्वसाधारणबाट रकम असुल्ने काम हुँदै आए पनि प्रहरीको उच्च निकायले सर्वसाधारणको गुनासो सुनुवाई नगरेपछि पीडित स्थानीयले सञ्चारकर्मीमाझ गुनासो पोखेका हुन्।
सो विषयमा स्थलगत रिपोर्टिङका लागी घटनास्थलमा पुगेका पत्रकारलाई समेत दुव्र्यवहार गर्दै सिहंले क्यामेरा खोसेर धम्की दिएका छन्। घुमुवा प्रहरी सिहंले आफूलाई लागेको आरोपबारे बोल्न चाहेनन्। इलाका प्रहरी कार्लायालय पुनर्वासले भने यस विषयमा आफूहरूलाई जानकारी नभएको बताए।
