धनगढी – धनगढी उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर १२ मा जारी मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा वडा नम्बर १४ र वडा नम्बर १६ विजयी भएका छन् ।
मनकामना युवा क्लबको मैदानमा भएको पहिलो खेलमा वडा नम्बर १६ विजयी भएको छ । वडा नम्बर १६ ले वडा नम्बर ९ लाई २–० ले हराएको हो । आफ्नो वडालाई जिताउन वडा नम्बर १६ कहा सुरेश चौधरी र विरेन्द्र चन्दले एक एक गोल गरे ।
आईतबार भएको दोस्रो खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा न्म्बर ३ लाई वडा नम्बर १४ ले टाईब्रेकर मार्फत पराजित गर्दै जित हात पारेको हो । निर्धारित समयसम्म दुवै टीमले एक एकको वरावरी खेलेपछि पेनाल्टी मार्फत खेलको निर्णय गरिएको थियो ।
पेनाल्टीमा वडा नम्बर १४ ले वडा नम्बर ३ लाई ५–३ ले किनारा लगाएको हो । यसअघि दुवै वडाले एक एकको वरावरी खेलेका थिए । वडा नम्बर १४ का सन्तोष थापाले गोल गरेका थिए भने वडा नम्बर ३ ले आत्मघाती गोल उपहार पाएको थियो ।
प्रतियोगिता अन्तर्गत सोमबार २ खेल हुनेछन् । पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर १३ तथा दोस्रो खेलमा वडा नम्बर १ र वडा नम्बर १५ प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका १९ वटै वडाका टीमहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ ।
प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने छ । मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट समेत विनियोजन गरेको छ ।

