धनगढी, २० पुस/सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभाका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले उम्मेदवारी दिने बताएका छन् ।
नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने राष्ट्रिय सभाको निर्वाचनका लागि समेत गठबन्धन गर्ने जनाएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले परिणाम जे–जेस्तो आए पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारको टुङ्गो लगाइसकेको बताउनु भयो ।
नेकपा एमालेको तर्फबाट खुला सदस्यका लागि नेता डिल्लीराज भट्ट, महिलातर्फ सन्तोष शर्मा र दलिततर्फ नरेश विकको नाम तय गरेको हो। सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेस र एकीकृत समाजवादीले पनि उम्मेदवार टुंगो लगाएका छन्। काँग्रेसको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभामा कैलालीका नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी काँग्रेसको प्रदेश सभापतिमा वीरबहादुर बलायरसंग पराजित भएका थिए ।
यस्तै नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशबाट पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने जनाएको छ । शाह यसअघि २०७० सालको संविधानसभा सदस्य पनि हुन् । माओवादी केन्द्रले भने उम्मेदवारको नामावलीबारे अहलेसम्म आधिकारिक जानकारी दिएको छैन । प्रदेश निर्वाचन कार्याय धनगढीले भने राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि आवश्य सबै काम भइरहेका जनाएको छ ।
सुदूरपश्चिममा को बलीयो ?
सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन । प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा) का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एकजना प्रदेशसभा सदस्य छन ।
मतभारअनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । यहाँ एकीकृत समाजवादीको मतभार ६ सय ७२ छ । त्यस्तै माओवादी केन्द्रको ६ सय २४, नेपाली कांग्रेसको ५ सय ७६ र एमालेको ५ सय २८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छ ।
प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १ सय ७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन भने एमालेका ७१ जना छन । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।
स्थानीय तहको कांग्रेसको सबैभन्दा धेरै मतभार छ । कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ ।
स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।