काठमाण्डौ, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताउनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष दाहालले राजेन्द्र लिङ्देनले गरेको टिप्पणीको जवाफ दिँदै राजतन्त्र स्थापित गर्न देशका राजनीतिक दलहरुलाई भिलेन देखाउन खोजिएको बताए ।
सोही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए । उनले राजनीतिक दलका नेताहरुमाथि जनतामा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक नेतृत्व सुध्रिन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिए । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उनले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गरे । उनले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गरे ।
