धनगढी, २३ मंसिर
नेपाली काँग्रेसमा १४ औ महाअधिवेशनका केन्द्रीय सदस्य (सुदूरपश्चिम भुगोल) तर्फका उम्मेदबार डा. रणबहादुर रावलले संस्कारयुक्त पार्टी बनाउन पहल गर्ने बताए ।बिहिबार रिपोर्टस क्लब आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले पनि पार्टीलाई बलियो, सुदृढीकरण र संस्कारयुक्त बनाउन आफुले केन्द्रिय सदस्य (सुदूरपश्चिम प्रदेश) पदमा उम्मेदवारी दिएको घोषणा गरेका थिए ।
‘सबै अनुभवलाई समेट्दा अहिले नेपाली काँग्रेसमा युवालाई बल पुग्ने, युवालाई साच्चिकै यो युवाको पार्टी हो भन्ने वातावरण बनाउने, अनुभवी र त्यागीहरुलाई पनि सम्मान गराउन सकिने वातावरण बनाउनका लागि मेरो उम्मेदवारी हो’ उनले भने ‘पार्टीलाई संस्कारयुक्त, पार्टीलाई विचार प्रधान, विधि, विधानबाट बढी अग्रसर हुने र रुपान्तरित भएर अघि बढाउनमा टेवा पुगोस भनी मेरो उम्मेदवारी हो ।’ उनले पार्टीमा परिक्रमा गर्नेहरु भन्दा परिश्रम गर्नुपर्ने कार्यकर्ता आवश्यक रहेको बताए ।
‘पार्टीमा लागेका मानिसहरुले केवल नेताहरुको परिक्रमा गर्ने होईन परिश्रम गरेर पार्टीलाई जिवन्त बनाउन सक्ने, जटिसिल बनाउन सक्ने, अहिले देशमा भइरहेको समस्याहरुको समाधान गर्न सक्ने र आशा भरोसा भएको यो पार्टीलाई भरोसामन्द बनाउन सक्नका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन सक्न पनि मेरो उम्मेदवारी हो’ उनले भने ‘पार्टीभित्र रहेका नेता तथा कार्यकर्ताको व्यवस्थापन र सम्मानित राख्न पनि मेरो उम्मेदवारी हुने छ ।’
उनले आउँदो स्थानीय, प्रदेश तथा प्रतिनिधीको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउन टेवा पुग्ने हिसावले आफु लाग्ने बताए । विकट ठाउँमा जन्मेका डाक्टर रावल २०३२ सालमा नेविसंघमा लागेका थिए । उनी २०७० सालमा प्रत्येक्ष निर्वाचनमा पराजित भएका थिए भने २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा विजयी भई सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता बनेका थिए ।