धनगढी १४ मंसिर/नेपाली कांग्रेसका युवा नेता हर्क बहादुर देउवाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा पहिचान बनाएका देउवाले यसपटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
हाल ४६ बर्षिय देउवाले २०४७ सालदेखी नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको राजनीतिमा प्रवेश गरेका थिए । डोटीको घण्टेश्वर माध्यामिक विद्यालय जोरायलमा नेविसंघको इकाई उपाध्यक्ष हुँदै उनी राजनीतिमा प्रवेश गरेका थिए ।त्यसपछि २०४८ सालमा नेविसंघको जिल्ला कार्यसमितिको उपाध्यक्ष चुनिएका उनि सोही वर्ष सम्पन्न नेविसंको बुटवल महाधिवेशनका प्रतिनिधी चुनिएका थिए ।
त्यसपछि २०५४ सालमा बानेश्वर क्याम्पस काठमाण्डौँमा स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्ष पदमा चुनाव जितेका थिए । उनको त्यो कार्यकाल २०५७ सालसम्म रह्यो ।
युवा नेता देउवा २०५९ सालमा नेविसंघ केन्द्रीय सदस्यमा चुनिएका थिए । २०६२ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा प्रत्यासी थिए ।यस्तै २०७३ सालमा सम्पन्न नेपाल तरुण दलको महाधिवेशनमा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी रहेका युवा नेता देउवाले पार्टीका नेताहरुको आग्रहमा सर्वसम्मतीका लागि जीतजंग बस्नेतलाई छाडेका थिए ।युवा नेता देउवा हाल नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रीय सदस्य छन् । यस्तै डोटीबाट महाधिवेशन प्रतिनिधीको निर्वाचन जितेका छन् ।
युवा नेता देउवाले लोकतन्त्र प्राप्तीका लागि विभिन्न समयमा भएका संघर्षहरुमा राजधानी र देशका विभिन्न सहरहरुमा रहेर आफ्नो भूमिका निर्वाह गरेका छन् । साथै शैक्षिक सुधारका सवालमा लामो संघर्ष गरेका छन् ।
विद्यार्थी तथा तरुण राजनीतिका क्रममा आफ्नो संघर्ष, त्यसक्रममा निर्माण भएको देशभरीको सञ्जाल नै आफ्नो केन्द्रीय सदस्य पदमा निर्वाचित हुने आधार रहेको युवानेता देउवा बताउछन् । ‘मैले झण्डै तिन दशक राजनीतिक संघर्ष गरेको छु । जसक्रममा देशभरका तमाम साथिहरुसंग जोडिने मौका पाएको छु । तिनै साथि प्रतिनिधी चुनिएर आएका छन्,’ उनले भने,‘त्यसैले साथिहरुको सल्लाह र समयको आवश्यकता अनुसार मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएको छु ।’ युवानेता देउवा संस्थापन देउवा पक्षधर नेता हुन् ।