काठमाडौं । एमालेको अध्यक्षका आकांक्षी भीम रावलले आफ्नो उम्मदेवारी घोषणाबाट पछि नहट्ने बताएका छन् । उनले प्रतिनिधिहरुसँग भोट माग्न थालिसकेको भन्दै भोलि मनोनयन दर्ता गर्ने जानकारी दिए ।
महाधिवेशनस्थल सौराहामा शुक्रबार राति आयोजना हुन लागेको अन्तिम केन्द्रीय समिति वैठकपूर्व कुरा गर्दै रावलले आफू एमालेलाई नेतृत्व गर्न तयार रहेको बताए । हालका अध्यक्ष ओली उमेरले ७० वर्ष काटिसकेको र दुई पटक प्रधानमन्त्री भइसकेकाले बोझ बिसाउने बेला भएको उनको भनाइ छ ।
‘उहाँलाई मैले भनेको छु अब विश्राम लिनुस, हामी तपाईंको अनुभवहरुलाई समेत उपयोग गर्दै पार्टीलाई अगाडि लैजान तयार छौं,’ रावलले भने ।आफूले उम्मेदवारी दिएपछि भने अध्यक्ष ओलीसँग आफ्नो कुराकानी अहिलेसम्म नभएको उनले बताए ।यसअघि संसदबाट दिएको राजीनामा फिर्ता लिएकोजस्तै उम्मेदवारी फिर्ता लिन सक्ने सम्भावनाका विषयमा प्रश्न गर्दा रावलले इन्कार गरे ।‘त्यो र यो विल्कुल फरक प्रसंग हुन्,’ उनले भने, ‘अहिले म अध्यक्षको उम्मेदवार हुँ र भोट पनि माग्न थालिसकेको छु । भोली मनोनयन दिने हो ।’
आफूलाई कसैले पनि सर्वसम्मतिमा पदाधिकारी चयनको विषयमा छलफल नगरेको रावलले बताए । यदि पदाधिकारी थप गरेर सहमति गर्ने प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘त्यस्तो काल्पनिक कुरा नगरौं ।’आफूले अहिलेसम्म चुनावी समिकरण नबनाएको रावलले बताए । अर्को पक्षले समिकरण बनायो भने आफूले बनाउन सक्ने उनले जनाउ दिए ।
‘हाम्रो पार्टी निर्णय अनुसार प्यानल बनाएर चुनाव लड्न मिल्दैन, त्यसैले मैले व्यक्तिगतरुपमा उम्मेदवारी दिन लागेको हुँ । तर अर्को पक्षले प्यानल बनायो भने पुनर्विचार गरौंला,’ उनले भने । आफूलाई उम्मेदवारी फिर्ता लिनुस भनेर अहिलेसम्म कसैले छलफल नगरेको रावलले बताए ।