धनगढी २८ कार्तिक/कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत बदर्गगोरीया पालिकाका सभापति वडामै पराजित भएका छन् । क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएका जिल्लाको बर्दगोरिया गाउँपालिकाका सभापति गणेशबहादुर शाही प्रारम्भिक वडा तहको निर्वाचनमै पराजित भएका हुन् ।
कार्तिक २७ गते सम्पन्न भएको वडाअधिवेशनका क्रममा बर्दगोरिया गाउँपालिका–१ मा देउवा पक्षीय प्यानलबाट चुनावी मैदान रहेका प्रतिस्पर्धीले पौडेल पक्षीय सभापति शाहीसहितको प्यानललाई पराजित गरेको हो । शनिबार राती १ बजेसम्म मत गणना भएको मतदान अधिकृत गिता कडायतले बताए ।विद्यार्थी कालदेखि नै पार्टी भातृसंस्था नेविसंघबाट राजनीति यात्रा सुरु गरेका पालिका सभापति शाही ३८ मत ल्याएर क्षेत्रीय प्रतिनिधिमै पराजित भए । यसअघि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शाही साविक दोदोधरा गाविसको सभापतिमा निर्वाचित भएका थिए । वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएका शाही पराजित भएको मतदान अधिकृत कडायतले जानकारी दिईन् ।
उक्त वडाको निर्वाचनको मत परिणाम अनुसार दिपेन्द्रकुमार बम नेतृत्वको पूरै प्यानलले वडा कार्यसमिति पदाधिकारी र क्षेत्रीय प्रतिनिधिमा एकतर्फी जित हासिल गरेका हुन् । निर्वाचित बमले ५९ मत ल्याए । उनका प्रतिद्वन्दी चक्रबहादुर बिष्ट ३४ मत ल्याएर पराजित भए । वडामा कुल १०८ जना मतदाता संख्या रहेकोमा ९९ मत खसेको र ६ मत बदर भएको थियो ।६ वटा रहेको बर्दगोरिया गाउँपालिकामा प्रारम्भिक चरणको वडाअधिवेशन अन्तर्गत ४ वटा वडामा मतदान र २ वटा वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ ।
पालिकाको वडा नम्बर–३ मा वडा सभापति नन्दाराम बिष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । १५ सदस्यीय वडा कार्यसमिति पदाधिकारीमा २ जना उपसभापति, २ जना सचिव, २ जना सहसचिव र समानुपातिक सदस्य ८ जना निर्विरोध निर्वाचित भएका छन् । वडामा कुल मतदाता संख्या ५० रहेकोे थियो ।त्यस्तै, वडा नम्बर–४ मा वडा सभापति धिरेन्द्रबहादुर शाहीको नेतृत्वमा वडा कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ । वडामा २० सदस्यीय कार्यसमिति र १८ सदस्यीय क्षेत्रीय प्रतिनिधि चयन भएको मतदान अधिकृत मिनबहादुर हमालले जानकारी दिए । कुल ६६ जना मतदाता रहेकोमा खुला, खसआर्य, दलित, थारू, मधेशी, मुस्लिम, अपांगता समावेशीतर्फ पदाधिकारी र प्रतिनिधि सर्वसम्मत चयन भएको बताइएको छ ।
वडा नम्बर–२ मा राजेन्द्र बमको नेतृत्वमा पूरै वडा कार्यसमिति प्यानल विजयी भएका छन् । क्षेत्रीय प्रतिनिधि पदमा भने मत गणनाका क्रममा आन्तरिक विवादका कारण मतपत्र च्यात्तिएपछि रोकिएको छ । अहिले स्थगित भएकोे बाँकी निर्वाचन प्रक्रिया के गर्ने भन्ने बारे सर्वपक्षीय छलफल चलिरहेको छ ।वडा नम्बर–६ मा वडासभापतिमा बुधराम चौधरी विजयी भए। सो वडामा ६० जना मतदाता संख्या रहेकोमा ५४ मत सदर र ६ मत बदर भएको मतदान अधिकृत रामचन्द्र कुश्मीले जानकारी दिए ।
वडा नम्बर–५ को वडा सभापतिमा हरिराम डंगौरा नेतृत्वको प्यानल नै विजयी भएको छ । १९ सदस्यीय वडाकार्यसमिति र १५ जना क्षेत्रीय प्रतिनिधिमा गाउँपालिका अध्यक्ष बलिराम डंगौरा बाहेक सबै पौडेल पक्षीय नेतृत्व चयन भएका हुन् । वडामा कुल १०३ जना मतदाता संख्या रहेकोे थियो ।गाउँपालिकामा २ वटा वडामा सभापतिसहित केहि पदाधिकारी बाहेक अधिकांश वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा देउवा पक्षीय नेतृत्व निर्वाचित भएको छ ।नेपाली कांग्रेसको निर्वाचन समितिले जिल्लामा १४ महाधिवेशनको नयाँ कार्यतालिका कार्तिक २७ गते वडा, कार्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो ।