धनगढी, १७ भाद्र
‘‘तम्रा गीत कति हुन्ना,जौं पात … ।
बुझ्या छौ कि दिदी बैनी,जौं पात….।।’’
अर्थात तपाईँका गीत कति होलान र?, दिदी बहिनीले बुझेको छ छैन
धनगढी उपमहानगरपालिका—४स्थित प्रधानमन्त्री शेरबहादुर देउवाको घरमा गौरा मनाउँन भेला भएका महिलाहरु प्रस्तुत गीतको बोलमा आज आपसमा सवाल जवाफको शैलीमा गौरा खेल खेल्दै रमाए । कोरोनाको जोखिमका बीच देउवा निवास परिसरमा टाँगिएको टेन्ट मुनी गोलबन्द भएका महिलाहरु गौरा खेलमा रमाएका हुन् । त्यस क्रममा उपस्थित दर्शकहरुले पनि भरपुर आनन्द लिन पाएका थिए ।
गौरा खेलमा सहभागी हुन चाहनेलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन घरको प्रवेशव्दारमा मास्क र स्यानेटाइजरको व्यवस्था गरिएको थियो । काँग्रेस नेतृ डा.आरजू राणा देउवा गौरा पर्व मनाउन चार दिन अघि धनगढी स्थित आफ्नो निवास पुग्नु भएको थियो । उहाँले निवासमा गौरा भित्र्याएर पूजा गर्नु भएको थियो ।गौरा पर्वमा महिला पुरुष छुट्टा छुट्टै रुपमा गोलबन्द भइ देउडा,चैत धमारी जस्ता खेल खेल्ने गर्दछन् । तर प्रधानमन्त्रीको निवासमा भने महिलाले मात्र गौरा खेल खेलेका हुन् । यसै बीच प्रधानमन्त्री निवासमा भित्र्याइएको गौरालाई आज धार्मिक अनुष्ठानका साथ बिसर्जन गरिएको छ ।
गौरा बिसर्जनमा प्रधामन्त्री पत्नी डा आरजू राणा देउवा लगाएत श्रद्धालु महिलाको सहभागिता रहेको थियो । गौरा पर्वमा देउडा खेल खेल्दा भने एक आपसमा घोचपेच र तिखो ब्यङ्ग गर्ने गरिन्छ । चैत धमारी जस्ता गीतको बोलमा खेलिने खेलले भने देवी देवताका महिमा दर्साउने गरेको गौराका जानकार बताउँछन् ।
यो पर्वमा महिलाले खेल्ने ठाडो भाखाको गीतले भने विवाहिता छोरीले माइती प्रति गर्ने गरेको माया, आसा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार तारादेवि जोशी बताउनु हुन्छ । महिला माँझ ठाडो भाखाको गीत सदियौं देखि निकै लोकप्रिय छ । गौरा भित्र्याइसकेपछि ब्रतालु महिलाहरुले गौरी भगवती र महेश्वर(शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन् । पूजाको कार्यक्रमसँगै मन्दिर र गौरा घरमा गौरा सम्बन्धी खेल खेल्ने गरिन्छ ।
कोरोना जोखिमका कारण अधिकांश गौरा घर र मन्दिरमा भने गौराको महोल विगत वर्षहरुमा जस्तो यस वर्ष तात्न सकेको छैन । यो पर्वमा विषेश गरी देवि देवताका गाथा, महिमा, दर्साउने गीत गाउने गरिएको गौरा गीतका गितेरु(गीतकार) धर्मराज जोशी बताउनु हुन्छ ।
