धनगढी । राष्ट्रिय जनमोर्चा पार्टी केन्द्रिय कार्यालयले सुदूरपश्चिमका कार्यकर्तालाई धम्क्याउन शुरु गरेको आरोप लगाएका छन ।
‘पार्टीभित्र हामीले फरक मत राख्दै आएका थियौं । हाम्रो मतलाई पार्टीले कहिले स्वीकार गरेन । त्यसैले हामीले केन्द्रिय समितिकै विधान अनुसार नयाँ कमिटि गठन गरेका थियौं’ आइतबार प्रदेश कमिटिले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष लोकेन्द्र लम्सालले भने –‘अहिले पार्टीका कार्यकर्तालाई केन्द्रिय महासचिव मनोज भट्ट लगायतका नेताहरुबाट धम्की दिने तथा प्रलोभनमा पार्ने काम भइरहेको छ ।’
सचिव लक्षीराम आचार्यले प्रदेश कमिटिका विषयमा पार्टीकै निर्देशनमा भ्रामक समाचार प्रकाशन गराउने, भ्रामक कुरा प्रचार–प्रसार गर्ने जस्ता गतिविधी पनि भइरहेको बताए । शनिबारमात्र युगदर्शन नामक अनलाईनले प्रदेश कमिटिबारे भ्रामक समाचार प्रकाशन गरेको थियो ।
प्रदेश कोषाध्यक्ष केशवनाथ योगीले प्रेस विज्ञप्ती पद्दै भने –‘अनलाईन पत्रिकामा प्रकाशित मिथ्या समाचार प्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त अनलाईन पत्रिकाको समाचारमा माओवादी केन्द्रका नेता विना मगर तथा मुख्यमन्त्री त्रिलोचन भट्टसंगको भेटमा पदको बाग्रेनिङ्ग गरेको भनि उल्लेख छ ।’
उनले विशेष शुत्रको हवाला दिँदै मिथ्या समाचार संप्रेषण गरेको प्रति घोर निन्दा तथा आपत्ती प्रकट गरे ।पार्टी अध्यक्ष लम्सालले लामो समयदेखि पार्टीभित्र गलत राजनीति, दक्षिणपंथी अवसरवाद, व्यक्तिवाद प्राधिकारवाद, जडसुत्रवाद, संसदवाद र नोकरशाही प्रवृति जारी रहेको बताए । उनले यस्ता प्रवृतिविरुद्ध निरन्तर संघर्ष गर्ने बताए ।