धनगढी, ५ असार/ कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले कोरोना महामारीका समयमा नागरिको जनस्वास्थ्य र निषेधाज्ञाको उल्लंघन गर्दै रातिको समयमा मदिरा सेवन गरी गाली गलौज र दुर्व्यवहार गरेको घटनाप्रति कृष्णपुरका नगर प्रमुखका उम्मेद्वारा हेमराज ओझाले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।
ओझाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कृष्णपुर नगर प्रमुख हमालको दादागिरि, राति होटलमा मालिकसँग रक्सी माग्दै दुर्व्यवहार” शीर्षकमा २०७८ असार ४ गते सञ्चार माध्यममा पनि ‘कृष्णपुर नगरपालिका, कञ्चनपुरका नगर प्रमुख कर्णबहादुर हमालले कैलालीको गोदावरी बजारमा रहेको गौरव होटलका सञ्चालकलाई गाली–गलौज गरेको’ भन्दै प्रकाशित गरेको समाचारप्रति ध्यानाकर्षण भएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका नेता ओझाले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै होटल लगायतका व्यवसायहरु नै बन्द गराएको अवस्थामा कानुन कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका व्यक्तीबाटै कानुनको उल्लंघन भएको आरोप लाग्नु गम्भीर विषय भएको जनाएका छन् । सञ्चार माध्यममा सुप प्र ००१ झ ३९९ नम्बरको कृष्णपुर नगरपालिकाको गाडीमा सवार नगर प्रमुख हमालसहित चार जनाको समूहले दुर्व्यवहार गरेको आरोप लागेकाले सत्य तथ्य सार्वजनिक गर्न नगर प्रमुख हमालसँग माग गरिएको छ ।
कोरोना महामारीले नगरका जनता प्रताडित रहेको अवस्थामा अभिभावकीय नेतृत्व गर्नुपर्ने व्यक्ती सयर गर्न जानु नै विरोधाभाषपूर्ण भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, त्यसमाथि होटल सञ्चालकसँग मदिराका लागि झगडा गर्नुका साथ अपशब्द बोल्नु त झन लज्जापूर्ण हुन जान्छ । सञ्चारमाध्यममा समाचार प्रकाशित भएको २४ घण्टा सम्मपनि नगर प्रमुख हमालले खण्डन प्रकाशित नगराएको र सञ्चार माध्यमले चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीका लागि कतै निवेदन दिएको जानकारीमा नआएकाले नगर प्रमुख हमालले गोदावरीमा होटल सञ्चालकलाई दुर्व्यवहार गरेको सत्य जस्तै देखिन आउँछ । तर पनि नगर प्रमुख हमाललाई शंकाको सुविधा दिदैँ नगरका जनता समक्ष सत्यतथ्य सार्वजनिक गर्न पुनः माग गर्दछु ।
यसअघि गोदावरीस्थित गौरव होटलमा रातिको समयमा आफ्नो बुबालाई धम्क्याएको भन्दै होटल सञ्चालककी छोरी सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् । उनको स्टाटस हटाउन भन्दै ज्यान मार्ने धम्की दिएको पनि उनले आफ्नो अर्को स्टाटसमार्फत उल्लेख गरेकी छन् । नगरप्रमुख मेयरले भने यस घटनाका बारेमा कुनै कुरा उल्लेख गरेका छैनन् ।