धनगढी, ४ असार/कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोप लगोको छ ।उनले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको आरोप लागेको हो ।
होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिका अनुसार नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेको थिए ।राति १० बजेर १० मिनेट भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने फोहोर फोहोर गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् ।
मेरो बुवाले धेरै आग्रह गर्नुभयो तपाई जस्तो मान्छेले यस्तो गर्नुभएन जानुहोस भन्दा पनि उल्टै मेरो बुवालाई पछि देखाउछु भन्न थाले उनले रुदै भनिन -रातिको बेला यसरी जनप्रतिनिधि जस्तो मान्छे दादागिरीशैलीमा आएर तेरो होटेलको हालत के हुन्छ , तिमिहरुको होटेल सिल गर्दिन्छु भन्दै धम्की दिएका छन् ।
उनले आफूले नगरप्रमुखलाई राम्रोसंग चिन्ने हुदाँ उनलाई चिनेपनि अन्य ब्यक्ति को हुन् सरकारी गाडी कसको भन्ने भने थाहा नपाएको बताइन् । उनको साथमा अत्तरिया कै एक होटेल ब्यबसायी र अर्का एक निजि बोर्डिङका संचालक समेत रहेको स्रोत को भनाई छ उनले जनताको सेवा गर्नका लागि जनताको भोटले जनप्रतिनिधि भएकाहरुको यस्तो हर्कतले आफु र आफ्नो समाज झनै असुरक्षित रहेको बताइन् ।अरु ठाउँवाट रक्सीले मात्तिएर आएर आफु र आफ्नो परिवारमाथि दमन गर्दै धक्की दिने नगरप्रमुख सहित उनीसंग भएका सबैलाई तुरुन्त कारबाहीको दायरामा ल्याउने उनले माग गरेकी छन् ।उनले आफ्नो सामाजिक संजालमा एउटा लामो स्टाटस हाल्दै यसरी दुख ब्यक्त गरेकी छन् ।
यस बिषयमा नगरप्रमुख हमालसंग बुझ्दा उनलाई सम्पर्क हुन सकेन । हामीले बारम्बार फोन गर्दा पनि उनको टेलिफोन ब्यस्त नै देखाइरहेको थियो । ।