धनगढी: ट्राफिक प्रहरीले लाइसेन्स माग्दा रंगभेदी दुर्व्यवहार गर्ने ज्वाला सङ्ग्रौला र उनको समूहविरुद्ध मुद्दा चलाउन प्रहरीले छानविन अघि बढाएको छ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने सङ्ग्रौलाको समूहसँग एक महिनाअघि महाराजगञ्ज चोकमा प्रहरीले लाइसेन्स मागेको थियो । लाइसेन्स नबोकेको भन्दै बाइक रोक्दा उत्पन्न विवादका क्रममा सङ्ग्रौलाको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको थियो । ड्युटीमा रहेका प्रहरीमाथि गरिएको रंगभेदी दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि सङ्ग्रौलामाथि कारबाहीको आवाज उठेको छ ।
भिडियोमा सङ्ग्रौलाको समूहले असई झालाई भनेको प्रस्टै सुनिन्छ, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाउ खेती किसानी गर्न। ट्राफिकको जागिर खाएर काम छैन । आफ्नै घरतिर सजिलो पनि हुन्छ ।’
महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी महाशाखाले आवश्यक छानविन गरिरहेको प्रहरी प्रवक्ता बसन्त कुँवरले बताएका छन् । ‘प्रहरीले यो घटनालाई रंगभेदभन्दा कार्य व्यवधान खडा गरेको रूपमा लिएको छ,’ प्रवक्ता कुँवरले भने, ‘रंगभेदमा कारबाही चलाउन सम्बन्धित प्रहरी कर्मचारीको उजुरी आउनुपर्छ । त्यो अहिलेसम्म आएको छैन ।’
उनको समूहले असई झालाई सरुवा गरिदिने धम्की दिएको थियो । दुई सातापछि महाराजगञ्जबाट झाको सरुवा भएपछि चौतर्फी विरोध भएको थियो । सरुवाबारे अनेक टिकाटिप्पणी हुन थालेपछि झा महाराजगञ्जमै थमौती भएका छन् । तर, विवाद भने टुंगिइसकेको छैन ।