काठमाडौं : नेकपा एमालेभित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरेका हुन् । यसअघि गत वैैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो ।
आइतबार सिंहदरबारमा अध्यक्ष ओलीसँग भेट गरेर बाहिरिने क्रममा नेता नेपालले दुवै पक्षका ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिएका छन् । उनले आफूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गते भन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरु बाँकी सबै कुरा टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिए ।
कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङको नेतृत्वमा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । कार्यदललाई ३ दिनको समय दिइएको छ ।
