धनगढी, ७ कात्तिक / दार्चुलाको व्यास गाउँपालिका–६, हुति गाउँमा एउटा अनौठो र मौलिक परम्पराको हरिण जात्रा सुरु भएको छ ।
यो जात्रा दसैँको पूर्णिमासम्म मनाइने गरिन्छ । दसैँको टीकाका दिन मनाइने हरिण जात्रा यहाँको धार्मिक आस्था, ऐतिहासिक विरासत र सांस्कृतिक सद्भावको जीवन्त प्रतीक बन्दै आएको स्थानीय बताउँछन् ।
हरेक वर्ष दसैँको टीकाका दिन तीन जना स्थानीय व्यक्तिलाई हरिणको स्वरूपमा शृङ्गार गरिन्छ । त्यसपछि दमाहा बाजाको गुञ्जायमान तालसँगै नाच्दै, गाउँदै र रमाउँदै उनीहरूलाई करिब एक किलोमिटर दुरीमा रहेको नौलाकेदार (दुर्गाभवानी) मन्दिरसम्म पुर्याइन्छ ।
बाजाको तालमा हरिणको स्वरूपमा सजिएका व्यक्तिको नाच र स्थानीयको उत्साहले गाउँको वातावरण नै उल्लासमय बन्छ स्थानीय तथा समाज अध्येता राजेन्द्र कुँवर बताए । उनका अनुसार यो जात्रा कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक अभिलेख छैन । यो जात्रामा भारतबाट समेत मेलामा आउने चलन छ ।
वडाअध्यक्ष राजेन्द्रसिंह कुँवरले हरिणजात्रालाई जोगाउन व्यास गाउँपालिकाले विशेष चासो लिदै आएको बताए।