धनगढी,७ कार्तिक / दूध दिन छाडेपछि गाईगोरु सडकमा छाड्ने प्रवृत्तिले सार्वजनिक चौपायाको व्यवस्थापन स्थानीय तहका लागि चुनौती बन्दै गएको छ ।
सडकमा छाडिएका चौपायाले दुर्घटनाको जोखिम बढाउनुका साथै यातायात र सर्वसाधारणको आवागमनमा समेत समस्या सिर्जना गर्दै आएका छन् । तर, कैलालीको धनगढी उपमहानगरपालिकामा भने यस्ता चौपायाको व्यवस्थापन गर्दै गौशालालाई आम्दानीको स्रोत बनाउने प्रयास भइरहेको छ ।
धनगढीमा समुदाय र स्थानीय सरकारको पहलमा सञ्चालन भइरहेका गौशालाले छाडा गाईगोरुको व्यवस्थापनसँगै दूध बिक्रीबाट आम्दानी गर्न थालेका छन् । गाईको दूधसँगै मलमूत्रबाट उत्पादित जैविक मल बिक्री गर्ने तयारी र अभ्यासले गौशाला सञ्चालनका लागि आवश्यक खर्च जुटाउनसमेत सहयोग पुगेको छ । यसले सार्वजनिक चौपायाको व्यवस्थापनलाई केवल खर्चिलो दायित्वका रूपमा नभई आम्दानी र रोजगारी सिर्जना गर्न सकिने अवसरका रूपमा समेत विकास गर्न सकिने सम्भावना देखाएको छ ।
धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौ संरक्षण सेवा समितिले दूध बिक्रीबाट मात्रै मासिक ८० देखि ९० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको यो गौशालाले अहिले करिब १५० गाईको व्यवस्थापन गरिरहेको छ । सार्वजनिक चौपायाको संख्या बढ्दै गएपछि स्थानीय समुदायको अगुवाइमा स्थापना भएको समितिले सुरुमा एउटा बिरामी गाईको उद्धार गरेर गौशाला सञ्चालन गरेको थियो । सीमित स्रोतसाधनबाट सुरु गरिएको गौशाला अहिले विभिन्न दाता, समुदाय र स्थानीय सरकारको सहयोगमा विस्तार भएको छ ।
गौशालाको व्यवस्थापनमा सामुदायिक वनले जग्गा उपलब्ध गराउन सहयोग गरेको थियो । कृषि ज्ञान केन्द्रले दुईवटा भवन निर्माण गरिदिएको छ भने धनगढी उपमहानगरपालिकाले आवश्यकताअनुसार पराल र उपचारका लागि सहयोग गर्दै आएको छ । धनगढीका नगर प्रमुख गोपाल हमालले समेत आफ्नो पारिश्रमिकबापतको रकम गौशालालाई उपलब्ध गराउँदै आएका छन् । गौ संरक्षण सेवा समितिकी महासचिव रीता जोशीका अनुसार सुरुवातमा एउटा बिरामी गाईको उद्धार गरेर सुरु गरिएको गौशाला अहिले समुदायको साथ र विभिन्न दाताको सहयोगमा विस्तार भएको हो । गाईको दूध तथा मलमूत्रबाट आम्दानी हुन थालेपछि गौशाला सञ्चालनमा केही सहजता आएको उनले बताइन् ।
सुरुमा एउटा बिरामी गाईको उद्धार गरेर गौशाला सञ्चालन गरेका थियौँ । सामुदायिक वनसँग जग्गा मागेर समुदायको सहयोगमा विस्तार गर्दै लग्यौँ । कृषि ज्ञान केन्द्रले दुईवटा भवन बनाइदियो भने उपमहानगरपालिकाले कहिले पराल सहयोग गर्छ, कहिले उपचारमा सहयोग गर्छ । नगर प्रमुखले पनि आफ्नो पारिश्रमिकबापतको रकम दिनुभएको छ, जोशीले भनिन् । उनका अनुसार गौशालालाई विभिन्न दाताले नियमित सहयोग गर्दै आएका छन् । दूध तथा मलमूत्र बिक्रीबाट प्राप्त हुने रकमले समेत गाईको आहारा र अन्य व्यवस्थापन खर्च जुटाउन सहयोग पुगेको छ ।
गौशालामा दानका लागि गाई लैजानेहरू पनि आउने गरेका छन् । त्यस्तै, घरमा पाल्न नसकेका गाई ल्याएर छाड्ने क्रम पनि छ । यसरी गाईको संख्या थपिँदै जाँदा व्यवस्थापनमा चुनौतीसमेत थपिने गरेको छ । गौशालाले गाई व्यवस्थापनका लागि निश्चित शुल्कको व्यवस्था गरेको जोशीले बताइन् । विभिन्न दाताले नियमित सहयोग गर्दै आउनुभएको छ । हामीले दूध तथा मलमूत्र बिक्री गरेर पनि आम्दानी गरिरहेका छौँ । दानका लागि गाई लैजानेहरू आउनुहुन्छ भने पाल्न नसकेका गाई पनि यहाँ छाडेर जानुहुन्छ । त्यसका लागि निश्चित शुल्क राखेका छौँ । अहिले गाईलाई राम्रोसँग व्यवस्थापन गर्न सकेका छौँ, उनले भनिन् ।
धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित फूलबारीस्थित हाम्रो गौशालाले पनि दूध बिक्रीबाट आम्दानी गर्न थालेको छ । सार्वजनिक चौपायाको व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको गौशालामा अहिले करिब साढे तीन सय गाई छन् । गौशालाले दूध बिक्रीबाट मासिक १५ देखि २० हजार रुपैयाँबराबरको आम्दानी गरिरहेको छ । आम्दानीको यो रकम ठूलो नभए पनि गौशाला सञ्चालनका लागि उपयोगी हुन थालेको व्यवस्थापन पक्षको भनाइ छ । दूध उत्पादन र बिक्रीलाई विस्तार गर्दै आगामी दिनमा आम्दानी बढाउने लक्ष्य राखिएको छ ।
हाम्रो गौशालाका अध्यक्ष यादव भण्डारीका अनुसार बजार तथा सडकमा छाडिएका गाईलाई उद्धार गरेर गौशालामा ल्याई व्यवस्थापन गरिएको हो । गाईको संख्या धेरै भए पनि सबैबाट दूध उत्पादन नहुने भएकाले आम्दानी सीमित रहेको उनले बताए । बजारमा छाडिएका गाई ल्याएर व्यवस्थापन गरेका हौँ । अहिले थोरै भए पनि दूध बिक्री गर्न थालेका छौँ । आगामी दिनमा यसबाट राम्रो आम्दानी हुने अपेक्षा छ, भण्डारीले भने । गौशालामा गाईको व्यवस्थापनसँगै आहारा जुटाउनु पनि चुनौतीपूर्ण छ । ठूलो संख्यामा रहेका गाईलाई नियमित रूपमा पराल, घाँस र अन्य आहारा आवश्यक पर्छ । यसका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।
विगतमा गौशालामा काम गर्ने हेरालुको पारिश्रमिक दिनसमेत समस्या हुने गरेको भण्डारीले बताए । तर, उपमहानगरपालिकाले पराल ढुवानीका लागि एउटा ट्र्याक्टर उपलब्ध गराएपछि व्यवस्थापनमा सहजता आएको छ । ट्र्याक्टरको प्रयोगबाट पराल ढुवानी गर्न सजिलो भएको छ भने त्यसबाट हुने आम्दानीले समेत गौशालालाई आर्थिक सहयोग पुगेको उनले बताए ।
चार गौशालामा करिब एक हजार गाई
धनगढी उपमहानगरपालिकामा समुदायको लगानीमा सञ्चालित एउटा र उपमहानगरपालिकाको व्यवस्थापनमा सञ्चालित तीनवटा गरी चारवटा गौशाला छन् । यी गौशालामा करिब एक हजार गाई व्यवस्थापन गरिएको छ । सार्वजनिक चौपायाको व्यवस्थापनलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले गौशालालाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ । गौशालामा रहेका गाईको स्वास्थ्य परीक्षण तथा उपचारका लागि पशु चिकित्सकको टोली परिचालन गर्ने गरिएको छ । आहारा अभाव भएका बेला पराल, घाँसलगायत सामग्री उपलब्ध गराउनसमेत उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।
गौशालामा रहेका गाईबाट दूध उत्पादन बढाएर आम्दानी वृद्धि गर्ने उद्देश्यले कृत्रिम गर्भाधान कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको उपमहानगरपालिकाका पशु चिकित्सक डा. समिर ठाकुरले बताए । उनका अनुसार गाईको उत्पादन क्षमता बढाउन सके गौशालाले दूध बिक्रीबाट थप आम्दानी गर्न सक्छन् । यसले गाईको व्यवस्थापनमा लाग्ने खर्चको केही हिस्सा आफैँ जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गौशालामा रहेका गाईबाट दूध उत्पादन बढाएर आम्दानी वृद्धि गर्ने उद्देश्यले कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्न थालेका छौँ । उत्पादन बढाउन सके गौशालाको आम्दानी पनि बढ्छ । यसले गौशालालाई क्रमशः आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ, ठाकुरले स्टेटसेभेनलाई भने ।
धनगढीमा सञ्चालित गौशालाले सार्वजनिक चौपाया व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । सडकमा छाडिएका गाईगोरुका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने, यातायात सञ्चालनमा समस्या हुने र बजार क्षेत्रमा आवागमन प्रभावित हुने गरेको छ । गौशालामा चौपाया व्यवस्थापन गर्न थालिएपछि सडकमा छाडा गाईगोरुको संख्या तुलनात्मक रूपमा कम देखिन थालेको छ ।
यद्यपि, चौपाया व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन गौशालाको क्षमता विस्तार, नियमित आहारा, पशु स्वास्थ्य सेवा र आर्थिक स्रोतको व्यवस्थापन आवश्यक छ । अहिले दाता तथा स्थानीय सरकारको सहयोगमा सञ्चालन भइरहेका गौशालालाई दूध र जैविक मल बिक्रीबाट थप आम्दानी गर्न सक्ने बनाउनु चुनौती र अवसर दुवै हो ।