काठमाडौं, १८ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । उनी सहभागी हुने कुनै संकेत नरहेको उनका स्वकीय सचिव भानु देउवाले बताए ।
आज (असोज १८) दिउँसो काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा सहभागी हुन देउवालाई निम्तो दिइएको छ । तर, निमन्त्रणा दिने तरिका उचित नभएको भन्दै असन्तुष्टि जनाइएको छ ।
“हिजो राति अबेर आएर निमन्त्रणा बाहिरै छोडेर जानुभएको रहेछ । निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअगाडि नै आएर दिए हुन्थ्यो,” भानुले भने, “घरमा कोही नभएका बेला आएर निमन्त्रणा छोडेर पनि कहीँ हुन्छ ?”
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली शनिबार बेलुका चुनदेवीस्थित देउवा बस्दै आएको निवासमा पुगेर उद्घाटन समारोहमा अतिथि हुन निमन्त्रणा छाडेको थियो । पूर्वसभापति देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको हो ।
देउवा पक्षले भने मंसिरमा गर्ने गरी घोषणा गरेको महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ ।