बैतडी , १८ असोज / बैतडीको पाटन नगरपालिका–६ खिपालीमा हालै निर्माण गरिएको खेलमैदान उद्घाटन गरिएको छ ।
रिभरसाइड युवा क्लबले आयोजना गरेको कार्यक्रममा खेलमैदानको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा खेलमैदानले साना तथा मझौला खालका खेलकुद प्रतियोगिता आयोजना गर्न तथा विभिन्न खेलको अभ्यासका लागि महत्वपूर्ण योगदान पु¥याउने विषयमा चर्चा गरिएको थियो ।
रिभरसाइड युवा क्लबका अध्यक्ष हरिश केसीले नयाँ खेलमैदानले स्थानीय खेलाडीलाई अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि सहज हुने बताए ।
खेलमैदान उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता कपील केसी प्रमुख अतिथी रहेका थिए । स्थानीयस्तरमा निर्माण भएको उक्त खेलमैदानले यहाँका खेलाडीहरुलाई सहयोग पुग्ने उनले बताए । खेलमैदान निर्माणका लागि पहिलादेखि पहल गरेको र अहिले सफल भएको उनको भनाइ छ ।
सामाजिक विकास कार्यालयको बजेटमा अयान्स कन्ट्रक्सनले खेलमैदान निर्माणको काम सम्पन्न गरेको हो ।