धनगढी, ५ असोज / बडीकेदार गाउँपालिका–५ को प्रमुख व्यापारिक केन्द्र अत्तरकाँडा बजार नजिकै विद्युत् विस्तारका लागि ल्याइएका तारहरू करिब एक वर्षदेखि अलपत्र अवस्थामा छाडिएका छन्। बजार नजिकै लथालिङ्ग अवस्थामा राखिएका तारहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका हुन्। विद्युत् विस्तारका क्रममा पोलको अभाव भएपछि तारहरू सोही स्थानमा छाडिएको बताइएको छ।
लामो समयदेखि तारहरू अलपत्र अवस्थामा रहेपछि स्थानीयले यसको उचित व्यवस्थापन र सदुपयोग गर्नुपर्ने माग गरेका छन्। विद्युत् नपुगेका क्षेत्रमा यस्ता सामग्रीको सदुपयोग गर्न सके नागरिकले विद्युत् सेवाबाट लाभ लिन सक्ने स्थानीयको भनाइ छ।
तर, अत्तरकाँडा बजार नजिकै छाडिएका उक्त तारहरू बडीकेदार गाउँपालिका–५ का नभई बोगटान फुड्सिल गाउँपालिका–१ का लागि विद्युत् विस्तार गर्ने क्रममा ल्याइएका तार भएको वडा अध्यक्ष खेम मगरले जानकारी दिए।
वडा अध्यक्ष मगरका अनुसार करिब एक वर्षअघि विद्युत् विस्तारको काम भइरहेका बेला पोल सकिएपछि बाँकी रहेका तारहरू सोही स्थानमा छाडिएका हुन्। अहिले उक्त तार सम्बन्धित स्थानमा लैजान लोड ट्याक्टर सञ्चालन गर्नुपर्ने भए पनि सडकको अवस्था उपयुक्त नभएका कारण ढुवानी गर्न नसकिएको उनले बताए।
‘सडक मर्मतको काम सुरु भइसकेको छ। केही दिनभित्र सडक सुधार भएपछि तारहरू सम्बन्धित स्थानमा ढुवानी गरिनेछ,’ वडा अध्यक्ष मगरले भने।
उनका अनुसार बोगटान फुड्सिल गाउँपालिका–१ मा करिब ८० प्रतिशत विद्युतीकरणको काम सम्पन्न भइसकेको छ। बाँकी क्षेत्रमा समेत विद्युत् विस्तारको काम अघि बढिरहेको उनले जानकारी दिए।