धनगढी, २२ असार/तुइनबाट खसेर दार्चुलाको ब्यास गाउँपालिका–२, छुम्लिङमा एक युवक बेपत्ता भएका छन् ।भारतबाट नेपालतर्फ आउने क्रममा तुइन चुँडिदा स्थानीय १८ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । दार्चुलाका सीमा क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार जाने गर्छन् । सीमा पार गर्नका लागि पक्की पुल नभएका कारण तुइन चढ्नुपर्ने बाध्यता छ ।
तुइन के कारण चुँडियो भन्ने हालसम्म खुलिसकेको छैन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय भन्छन्, ‘भारी बढी भएका कारण ओभरलोड भएको हो कि भन्ने भन्ने छ, अहिले खोजीलाई नै प्राथमिकता दिएका छौं ।’ स्थानीयबासिन्दाका अनुसार अहिले युवक बेपत्ता भएको स्थान गत वर्ष भारतीय पक्षले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको ठाउँ नजिकै पर्छ ।