धनगढी, २१ असार/बैतडीको झुलाघाटस्थित नेपाल-भारत सीमा नाकामा जीर्ण रहेको पुलको लक टुटेपछि आवागमन रोकिएको छ । मंगलबार बिहान करिब ९ बजे पुलको भारततर्फको लक टुटेको सीमामा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
जीर्ण रहेको काठको पुलको लक टुटेपछि मंगलबारबाटै पुल बन्द गरिएको छ । पुल भाँचिएको जानकारी पाएपछि निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।काठको पुलको भारततर्फको फल्याक नै भाँचिएकोले आवतजावत रोकिएको उनले बताए । यो विषयमा पिथौरागढ जिल्लाका डीएमसँग फोनवार्ता भएको पनि प्रजिअ पन्थीले बताए ।
उनले भने, ‘डीएम कार्यालयका प्रतिनिधि र त्यहाँका इन्जिनियरसँग भेटघाट पनि भयो । बुधबारबाट भारतीय पक्षले मर्मत गर्ने कुराकानी भएर अहिलेलाई बन्द गरेका छौं । मर्मतपछि सञ्चालन गर्नेछौं ।’