काठमाडौं ७, असार । अखिल नेपाल फुटबल संघ ९एन्फा०को नयाँ नेतृत्वमा आएसँगै पंकज नेम्वाङले खेलाडीलाई न्याय दिने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएसँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पद धरापमा परेको टिप्पणी हुन थालेको छ ।
पंकज नेतृत्वमा आएसँगै अल्मुताइरीको पद धरापमा पर्नसक्ने यसअघिदेखि नै टिकाटिप्पणी हुने गरेको थियो । अल्मुताइरीले यसअघि आफूलाई काम गर्ने वातावरण नदिएको भन्दै नेम्वाङलाई आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई ‘मेन्सन’ गरेर आफूलाई तीन सातादेखि काम गर्ने वातावरण नदिएको बताएका थिए । त्यसपछि समर्थकहरु पनि नेम्वाङको विपक्षमा उर्लिएका थिए । त्यसपछि उक्त विवाद एन्फाले मिलाउन नसक्दा कुरा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद् ९राखेप०मा पुगेको थियो ।
राखेपले अल्मुताइरीको गल्ती देखाउँदै उनको फेसबुक उक्त पोष्ट हटाउन निर्देशन दिएको थियो । त्यसपछि त्यो विवादको बारेमा खेलकुद मन्त्रालयले कुनै कदम चालेन । त्यसपछि समर्थकको साथ पाएपनि अल्मुताइरी बेला–बेला विवादमा आउन थाले । एएफसी एसियन कप छनोटअघि नै नेपाल छनोट हुन नसक्ने अभिव्यक्तिदेखि लिएर खेलाडीलाई होटल छोड्न लगाउने जस्ता कार्यले पनि उनी विवादमा तानिए ।
खेलाडीहरुसँगको विवाद नै उनको मुख्य चर्चाको विषय हो । प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा अल्मुताइरीले क्याम्प छोड्न भनेका थिए । त्यो विवाद चर्कदै गएपछि एन्फाले छानविन समिति गठन गर्यो । उक्त छानविन समितिले अल्मुताइरीलाई एसियन कप छनोटको खेलपछि जिम्मेवारीबाट हटाउन सुझाव समेत दियो ।
उक्त समयमा खेलाडीलाई न्याय दिन भनेर नयाँ अध्यक्ष नेम्वाङ लागेका थिए । अहिले निर्वाचित भएसँगै नेम्वाङले पुरानै आफ्नो नीतिलाई निरन्तरता दिँदै खेलाडीलाई न्याय दिने बताएका हुन् । अल्मुताइरी अहिले तीन महिनाको विदामा छन् । अल्मुताइरीको विदा नसकिँदै एन्फाको नयाँ नेतृत्वले उनलाई बर्खास्त गर्ने मनसाय बनाएको छ । उसो त तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि अल्मुताइरीलाई बर्खास्त गर्ने पक्षमा थिए । तर, चुनावअघि आफूलाई असर पर्ने डरले उनले उक्त कदम चाल्न सकेका थिएनन् ।