धनगढी,१८ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि शनिबार भएको चुनाबको मतगणना राती ११ बजेदेखि हुने भएको छ । अहिले राती ९ बजेबाट मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गर्ने कार्य भईरहेको बताईएको छ । सबै प्रकृया पुरा भएपछि मात्रै राती ११ बजेबाट मात्रै मतगणना सम्भव हुने निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए । शनिबार साँझ सकिएको चुनावमा कुल १ हजार २६ मतदातामध्ये एक हजार ३ मत खसेको थियो ।
बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक हजार २७ मतदाता रहेको मतदानमा २३ जना अनुपस्थित थिए । अहिले राती ९ बजेबाट मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गर्ने कार्य भईरहेको र राती ११ बजेबाट मतगणना सुरु हुने कैलाली काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए ।
५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले ५६ पदका लागि मतदान भएको थियो । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन् । मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले जानकारी दिए । संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएको थियो भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनावी मैदानमा उत्रिएको थियो ।