धनगढी, १५ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको आसन्न प्रथम प्रदेश अधिवेशनमा युवा नेता लेखराज जोशीले प्रदेश सह–महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । मंसिर १६–१८ सम्म धनगढीको ओम प्यालेसमा हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि नेता जोशीले उम्मेदवारी घोषणा गरेका हुन् ।
एक महिलासहित ३ जना सह–महामन्त्रीका लागि हुने निर्वाचनमा युवा नेता जोशीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचनमा जित्ने आधार देखाउँदै नेता जोशीले भने,‘मैले सुदूरपश्चिममै रहेर विद्यार्थी आन्दोलनदेखि १९ दिने जनआन्दोलनका साथै विभिन्न सामाजिक आन्दोलनमा गरेको योगदान नै मेरो जित्ने आधार हो ।’ आफूले उम्मेदवारी घोषणा गर्नुअघि सुदूरपश्चिमका मतदातामाझ गएको बताउँदै उनले भने,‘मैले मतदाताहरुको मनसाय र उहाँहरुको सुझाव अनुसार नै सह–महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’
को हुन् जोशी ?
घरैदेखि कांग्रेसकै राजनीतिक वातावरणमा हुर्केका लेखराज जोशी नेपाल विद्यार्थी संघको राजनीतिमा परिचित नाम हो । कुनैताका सुदूरपश्चिममै चर्चित क्याम्पसका रुपमा रहेको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीतिमा उदायएका जोशी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन् ।
सुदूरपश्चिममा विद्यार्थीको हक हितका लागि गरिएका आन्दोलनमा होस् या १९ दिने जनआन्दोलनमा होस् नेता जोशीले देशमा लोकतन्त्र ल्याउन महत्वपूर्ण योगदान पु¥याएको समकालीन विद्यार्थी नेताहरु बताउँछन् । राजा ज्ञानेन्द्रको ‘कू’ पछि सबैभन्दा बढी जेल र यातना भोगेका नेता जोशी तत्कालीन नेकपा माओवादीको युवा संगठन वाइसिएलको आक्रमणमा पनि परेका थिए । जन आन्दोलनमा आन्दोलनकारीका लोकप्रिय रहेका नेता जोशीलाई ‘टार्गेट’ गरेरै प्रहरीले दमन गरेको थियो ।
प्रहरीको दमनबाट घाइते बनेका जोशीलाई प्रहरीले नै त्यो बेला पक्राउ गरी उपचार गर्नुको साटो सम्पर्कविहीन बनाएर कैद गरेको थियो । ‘त्यो दिन सम्झँदा अहिले पनि झसंग हुन्छ’, नेता जोशीले भने,‘धनगढीमा जनआन्दोलनको राप दन्केको थियो, त्यही रापमा हेलिँदै म पनि आन्दोलनको अग्र मोर्चामा थिए, प्रहरीले नियोजित ढंगले मलाई लाठी र बुट प्रहार गरी घाइते बनाएर सम्पर्कविहीन बनाएको थियो ।’
सुदूरपश्चिमको विद्यार्थी राजनीतिमा इँटा थपेका जोशीले पार्टीको राजनीतिमा पनि संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी सुदूरपश्चिमा पूर्व मन्त्री तथा केन्द्रीय सदस्य एनपी साउँदका विश्वासिला नेताका रुपमा परिचित छन् ।
कञ्चनपुर कांग्रेसमा जिल्लाको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका जोशी आफूले प्रदेशमा आएपछि सुदूरपश्चिममा ‘एक घर सब कांग्रेस’ अभियानलाई सार्थकता दिन समितिमा योजना बनाइ कार्यान्वयन गराउन लाग्ने उनले बताए । ‘आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सुदूरपश्चिमका सबै क्षेत्रबाट कांग्रेसलाई विजयी गराउन योजनासहितको कार्यक्रम लिएर ‘गाउँ डुलौ’ अभियान पनि चलाउने योजना छ,’ उनले भने ।