धनगढी ५ असोज/ सुदूरपश्चिम प्रदेश सभा सदस्य(संसद) डिल्लीराज पन्तले कोरोनाले आक्रान्त अहिलेको समयमा शान्तिको आवश्यकता रहेको बताएका छन् ।
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा धनगढीमा आयोजना गरीएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य डिल्लीराज पन्तले सो कुरा बताएका हुन् । ‘नेपाल शान्ति क्षेत्र हो’ उनले भने, ‘शान्तिका प्रयास सफल बनाउँदै विश्वमा शान्तिको सन्देश फैलाउन सवैले लाग्नुपर्छ ।’
राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले १९८१ मा संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित भएपछि सन १९८२ देखी शान्ति दिवस मनाइने गरेको बताए । ‘शान्तिको महत्व अझै पनि आवश्यक छ’ उनले भने, ‘गौतम बुद्ध जन्मेको देशबाट विश्वभर शान्तिको सन्देश फैलाउनु आवश्यक छ ।’
मानव अधिकार आयोग, इन्सेक, महिला कानून र विकास मञ्च, मानव अधिकारका लागि एकल महिला समुह लगायत तमाम संघसंस्थाको संयुक्त आयोजनामा दीप प्रज्वलन गरीएको थियो ।
