धनगढी, १६ भदौ । नेकपा एमाले बिभाजन अघि माधव समूहमा रहदा भीम रावलका पक्षमा सुदूर पश्चिम प्रदेश सभामा १७ जना सांसद थिए । पछिल्ला चार वर्षमा सुदूर पश्चिम प्रदेश सरकारमा रावलले जे चाह्यो, त्यही भयो । उनले जसलाई मन्त्री बनाउन चाहे, बनाए । जसलाई हटाउन चाहे, हटाए ।
त्यति मात्र होईन, फरक पार्टी माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि आफ्नो कार्यकर्तालाई झै चलाए । तर जव उनले पार्टी बिभाजनपछि माधव नेपालको साथ छोडे । तव उनको साथ कुनै बेला उनकै ‘एस म्यान’ हरुले पनि छोडे । उनी प्रदेशमा त एक्लिए नै, जिल्लामै मै पनि एक्लिए ।
उनका अत्यन्त निकट रहेका राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवँरले पनि साथ छोडे । अहिले उनको साथमा झपट रावल, प्रकाश शाह र प्रकाश रावल मात्र छन् । मंगलवार सुदूर पश्चिम प्रदेश सभाका १० जना सांसदले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरे ।
कम्तिमा थप तीन जनाले आज सनाखत गर्ने बताईएको छ । १३ जनाले सनाखत गरेमा समाजवादी पार्टी सुदूर पश्चिम प्रदेशकै ठूलो पार्टी बन्ने छ । तटस्थ भूमिकामा रहेका अर्जुन बहादुर थापा पनि माधव पक्षधर हुन् । यसको सोझो अर्थ हो, रावलले आफ्नै पक्षधरहरुलाई जोगाउन सकेनन ।
रावलले बिगतमा सुदूर पश्चिममा जसको राजनीति सक्न चाहे, सके । जसलाई टिकट दिन चाहे, दिए । जसलाई दिन चाहेन, उसलाई जिन्दगीभर दिएनन । उनीबाट प्रताडित र उनले राजनीतिमा उठ्नै नदिएका नेताहरुको पनि सुदूर पश्चिममा लामै फेहरिस्त छ । उनी माधव समूहमा लागेपछि अछामका दर्जनौ नेताहरु केपी ओलीको पक्षमा लागे । उनी फर्केर ओली नेतृत्वकै एमालेमा लागेपछि भने ती नेताहरु सकसमा परेको एमाले स्रोतले बतायो ।
बिगतमा रावल माधव समूहमा लागेका कारण सुदूर पश्चिम प्रदेश सभामा ओली समूह अयन्त कमजोर (सात जनामा सिमित) थियो । अहिले रावल ओली पक्षमा छन् । फेरि पनि ओली पक्ष कमजोर नै छ ।
रावलको जस्तै अवस्था माओवादी केन्द्रबाट ओली नेतृत्वको एमालेमा गएका लेखराज भट्टको छ । माओवादी पार्टी सशस्त्र बिद्रोह छोडेर शान्ति प्रकृयामा आएपछि पछिल्लो डेढ दशक भट्टले सुदूर पश्चिममा एकछत्र राज गरे । उनी सधै ईञ्चार्ज रहे । उनलाई चुनौती दिन सक्ने कोही भएन । चुनौती दिनेहरु कहिल्यै माथि उठ्न पाएनन ।
उनी संघीय सरकारमा जहिल्यै मन्त्री भए । र आफू मन्त्री नहुदा उनले चाहेको व्यक्ति मात्र मन्त्री भए । प्रदेश सरकारमा पनि त्यही भयो । उनले बीरमान चौधरीलाई मुख्यमन्त्री हुनबाट रोके । आफ्नै पुत्ला जलाउने त्रिलोचन भट्टलाई मख्यमन्त्री बनाए ।
भट्टको साथ सबैभन्दा पहिले छोड्ने तिनै मुख्यमन्त्री भए । त्ससपछि टेकेन्द्र भट्टले साथ छोडे । खेम बम उनको जहिल्यै बिरोधी रहे । लेखराज भट्ट माओवादी केन्द्रको सुदूर पश्चिम ईञ्चार्ज छोडेर ओली नेतृत्वको एमालेमा जादा उनलाई एक जना झपट बोहराले मात्र साथ थिए । प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री रहेका बोहराको त्यही कारण पद समेत गुम्यो ।
भट्ट एमालेमा जादा उनीसंग केही नेता उनीसंगै एमालेमा नगएका होईनन । तर अहिले कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा बाहेक कोही साथमा छैनन । र केही आफ्नै परिवारका व्यक्तिहरु उनीसंग एमालेमा छन् । उनकै पूर्व स्वकीय सचिव ओम बिक्रम भाट सरल पनि उनको साथ छोडेर माओवादी केन्द्रमै सक्रिय छन्।
रावल र भट्ट एमाले र माओवादी केन्द्रका बलिया खम्बा थिए । अहिले दुईटै एमालेमा छन् । तर त्यही एमालेको अवस्था सुदूर पश्चिममा यतिबेला कमजोर छ । संघीय सरकारबाट बाहिरिईसकेको एमाले सुदूर पश्चिम प्रदेश सरकारबाट समेत केही दिनमा बाहिरिने निश्चित भएको छ ।
एमालेका एक नेताले भने, बिगतको रावल र भट्टको व्यवहार र उनीहरुको दल र गुट बदलिरहने प्रबृतिका कारण उनीहरुले पालैपालो सबैको साथ गुमाएका हुन् । यसले अव कोही कसैको दास र सधैभरी पिछलग्गु हुदैन भन्ने गतिलो सन्देश दिएको छ ।
नेकपा एमालेले सुदूर पश्चिममा आफ्ना नेता तथा सांसदहरु जोगाउन रावल, भट्ट र कर्ण बहादुर थापालाई खटाएको छ । तीन जना मिलेर एक जना नेतालाई पनि उनीहरुले समाजवादीमा जानबाट रोक्न सकेनन ।