काठमाण्डौ, २ भदौ । गृहयुद्ध चर्किएको अफगानस्तानबाट १२७ जा नेपाली काठमाण्डौ आइपुगेका छन ।सरकारले चार्टर्ड प्लेन पठाएर उनीहरुको उद्धार गरेको हो भने बाँकीको पनि छिटै उद्धार गरिने जनाएको छ ।मंगलबार नेपाल फर्किनेमध्ये १२६ जना पुरुष र १ जना महिला छन । उनीहरु मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ।विश्वकै ध्यान खिचेको अफगानस्तानको गृहयुद्धमा हजारौँ नेपाली पनि फसेका छन । उनीहरुको उद्धारका लागि सरकार गम्भीर नभएको भन्दै आलोचना भइरहेको बेला सरकारले चाहिँ उद्धारका लागि नेपाल वायुसेवा निगमको चार्टर्ड प्लेन नै पठाउने निर्णय आइतबार गरेको थियो ।
यसबाहेक अर्को नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ ।निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन र लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्याउन निगमको विमान त्यहाँ जान लागेको हो ।
निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ । यो चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रालि हो ।यो चार्टर उडान दुबईमा रहेको एउटा कम्पनीले गर्न लागेको हो । यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ ।काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ ।
द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो ।५ वर्षअघि काबुलमा भएको आत्मघाती बम बिस्फोटमा १२ नेपाली सुरक्षा गार्डको निधन भएको थियो । उक्त घटनामा मारिएका १२ नेपालीको शव लिन निगमको न्यारोबडी ०७३ असारमा अफगानस्थान गएको थियो ।
यसबाहेक सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्नका लागि समिति पनि बनाएको छ ।सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए ।प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्त्व हुनेगरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने उनले बताए ।
अफगानिस्तानमा औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली रहेको सचिव पौडेलले बताए । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उनले उल्लेख गरे ।अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको उनले बताए ।सरकार दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको उनले बताए ।
मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एकरएक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक सञ्चालन गर्ने पनि सचिव पौड्यालले बताए ।
