काठमाडौं । नेपाल तरुण दलले कोरोना भाइरसविरुद्धको लडाइँमा अग्र मोर्चामा खटिन र सर्वसाधारणमा जनचेतना फैलाउन जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएको छ ।
अध्यक्ष जित जङ्ग बस्नेतले बुधवार सबै जिल्लाका जिल्ला अध्यक्षहरुलाई निर्देशनात्मक पत्र लेख्दै कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने काममा खट्न निर्देशन दिएका हुन् ।
उनले खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने काममा पनि तरुण दलले भुमिका खेल्नुपर्ने बताएका छन् ।
त्यसैगरी स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने, केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने र बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने काममा खट्न पनि उनले अनुरोध गरेका छन् ।